तीनकुने घटना : दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकियो, आजदेखि थुनछेक बहस सुरू
काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकिएको छ । अब आजदेखि थुनछेक बहस सुरू हुने भएको छ ।
नवराज सुवेदी नेतृत्वको ’संयुक्त जनआन्दोलन समिति’ले आह्वान गरेको उक्त प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने निजी घर, सरकारी गाडी र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।
घटनासम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा चलिरहेको छ। कुल ५० जनाविरुद्ध दायर मुद्दामध्ये हालसम्म ३९ जना मात्र उपस्थित छन्।
दुर्गा प्रसाईंसहित ८ जनामाथि ‘कर्तव्य ज्यान’ र ‘ज्यान मार्ने उद्योग’को अभियोग समेत लगाइएको छ । बाँकी ५० जनामाथि राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराध अन्तर्गत मुद्दा दायर गरिएको हो ।
यसैबीच, आपराधिक उपद्रवसम्बन्धी अर्को मुद्दामा संलग्न ११ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।












