ऊर्जा मन्त्रालयको प्रस्तावबिना ‘टेक एन्ड पे’ बजेटमा आएको हो, सच्याउनुपर्छ: मन्त्री खड्का

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक कुमार खड्काले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा ऊर्जा मन्त्रालयको प्रस्ताव बिनै ‘टेक एन्ड पे’ विद्युत् खरिद सम्झौताको व्यवस्था राखिएको बताएका छन्।
बुधबार राजधानीमा आयोजित २८.३ मेगावटको मध्य चमेलिया जलविद्युत् आयोजनाको वित्तीय समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। यो व्यवस्था राष्ट्रनिर्माणको अवधारणाविपरीत भएको टिप्पणी गरे।
“बजेटमार्फत टेक अर पे प्रावधानलाई परिवर्तन गरी टेक एन्ड पे बनाइएको छ, जुन ऊर्जा मन्त्रालयको प्रस्ताव नै होइन,” मन्त्री खड्काले भने, “यो विषयलाई तुरुन्त सच्याउन जरुरी छ।”
उनले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्नका लागि ‘टेक अर पे’ आधारमा २८ हजार ५०० मेगावाट क्षमताको पिपिए आवश्यक पर्ने र आन्तरिक खपतका लागि पनि २०३५ सम्म १३ हजार ५०० मेगावाटसम्म माग हुने प्रक्षेपण सुनाए । यस्तो अवस्थामा सरकारलाई तत्काल टेक एन्ड पे मा जानुपर्ने कुनै बाध्यता नभएको उनले स्पष्ट पारे।
‘विद्युत खरिद सम्झौतामा ‘टेक एण्ड पे’ उर्जा मन्त्रालयको प्रस्ताव बिना आएको हो । यसलाई सच्याउनुपर्छ । ऊर्जा प्रवर्द्धकहरुलाई नआत्तिकन काम गर्नुहोस्’ उनले भने।
उर्जा प्रवर्द्धकहरुलाई ढुक्कले लगानी गरी काम गर्न उनले आग्रह गरे। मन्त्री खड्काले भने, ‘हामी तपाईंहरूलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्छौं। आत्तिनु पर्ने कुनै अवस्था छैन। सरकार ऊर्जा विकासप्रति प्रतिबद्ध छ।’