एक दशकपछि विजय माल्याको अभिव्यक्तिः निष्पक्षता छ भने म भारत फर्कन तयार छु « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

एक दशकपछि विजय माल्याको अभिव्यक्तिः निष्पक्षता छ भने म भारत फर्कन तयार छु



किङफिसर पतनको सत्य के हो ?

कठमाडौं । धोखाधडी र सम्पति शुद्धिकरण मुद्दामा भारतमा ९,००० करोड रुपैयाँ बराबरको अभियोग खेपिरहेका फरार व्यापारी विजय माल्याले नौ वर्षपछि पहिलोपटक सार्वजनिक रूपमा खुलेर बोलेका छन्।

चर्चित युट्युबर राज शमानीको पोडकास्टमा माल्याले किङफिसर एयरलाइन्सको पतन, आफूमाथिका आरोपहरू, र निर्वासित जीवनबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

अन्तर्वार्तामा उनले मिडिया र प्रणालीले मलाई बलीको बोको बनाउको भन्दै किंगफिसर एयरलाइन्सको पतन व्यक्तिगत ठगीका कारण नभइ नीतिगत असफलताका कारण भएको दावी गरे ।

किङफिसर एयरलाइन्सको पतनबारे चर्चा गर्दै माल्याले २००८ को विश्वव्यापी आर्थिक संकटलाई पनि यसको मुख्य कारणका रुपमा चित्रण गरे । ‘किङफिसर एयरलाइन्स २००५ देखि २००८ सम्म राम्रो चलेको थियो तर त्यसपछि ब्याजदर बढ्नु, इन्धनको मूल्यमा उकालो, र आर्थिक बजारको अस्थिरताले कम्पनीलाई थप संकटमा धकेल्यो’, उनले भने ।

आर्थिक संकटबीच कम्पनीलाई जोगाउन डाउन साइजिङ (संगठन सानो बनाउने) योजना अघि सारे पनि सरकारले अनुमति नदिएको बताए । तत्कालिन प्रधानमन्त्री प्रणव मुखर्जीलाई भेटेर संस्थामा समस्या छ, किङफिसर एयरलाइन्सलाई सानो बनाउने अघि सारेपनि मुखर्जीले यस्तो योजना गर्दै ‘कर्मचारीहरूलाई नछुनू’ भन्ने सन्देश दिएको माल्याको दाबी छ। ‘जसले कम्पनीलाई थप ऋण लिन बाध्य बनायो’ उनले भने।

सरकारको दबाब र आर्थिक नीतिको असहयोगलाई उनले कर्जाको संकट चुलिनुको मुख्य कारण बताए ।

यस्तै उनले ९ वर्षसम्म आफुमाथि मिडिया ट्रायल गरेर नकारात्मक न्यारेटिभ सेट गरेको उनको भनाइ छ । माल्याले आफूलाई आपराधिक रूपमा चित्रण गरिने सार्वजनिक धारणा प्रति कडा आपत्ति जनाएका छन्।

मार्च २०१६ पछि भारत नफर्किएकाले आफुलाई भगौडा भने पनि चोर भन्न नहुने उनको धारणा छ । उनले आफु भागेको नभइ पूर्वनियोजित भ्रमणका लागि भारतबाट उडेको र त्यसपछि थुप्रै कारणहरुले गर्दा नफर्किउको बताए ।

माल्याले भने, म वर्षै चुप लागे तर अब भारतले मेरो सत्य सुन्नु पर्ने समय आएको छ । अन्य ठूला कम्पनीहरूलाई सरकारले सहयोग गर्दा आफ्नो ब्रान्डलाई जनताको आक्रोशमा जलाइएको चितामा होमिएको उनको भनाइ छ ।

यस अन्तरवार्तामा उनले किंगफिसर एयरलाइन्सका कर्मचारीहरुसँग माफी मागेका छन् र भारत फर्कने विषयमा पनि आफ्नो विचार व्यक्त गरेका छन्।

उनले भनेका छन् कि यदि उनलाई निष्पक्ष परीक्षण र सम्मानजनक व्यवहारको आश्वासन दिइन्छ भने, उनी भारत फर्कने विषयमा गम्भीरता साथ विचार गर्नेछन्।

उनले भारतको कारागारको अवस्थाबारे चिन्ता व्यक्त गर्दै, युके उच्च अदालतले अन्य प्रत्यर्पण मामिलामा ती अवस्थाहरूलाई मानवअधिकार उल्लङ्घनको रूपमा निर्धारण गरेको बताए ।

भारतमा चर्कियो नयाँ बहस
माल्याको पछिल्लो अभिव्यक्तिले भारतमा पुनः बहस चर्किएको छ। के किङफिसरको पतन केवल माल्याको गल्ती थियो, वा नीति निर्माता र सरकारी हस्तक्षेप पनि त्यसमा सहभागी थिए?

भारतको केन्द्रीय बजेट आउनुभन्दा केही हप्ता अघि गरिएको यो अन्तरवार्ताले विपक्षी नेताहरूलाई नयाँ अनुसन्धानको माग गर्न उक्साएको छ भने सत्तारुढ दलका प्रवक्ताहरूले भने यसलाई “प्रचारमुखी स्टन्ट”को संज्ञा दिएका छन्।

भिडियो सार्वजनिक भएको केही घण्टामै युट्युबमा ६५ मिलियनभन्दा बढी पटक हेरिएको थियो । भारितय जनता दुई धारमा विभाजित देखिएका छन् । कतिपयले “प्रणालीद्वारा अन्यायमा परेका व्यक्तिलाई बोल्न दिनु पर्छ” भनेका छन्, भने अन्यले शमानीमाथि “भगौडालाई महिमामण्डन गर्ने” आरोप लगाएका छन्।

भारत सरकारले उनलाई आर्थिक अपराधको अभियोगमा ल्याउन धेरै प्रयास गरिरहेको छ। बेलायतमा निर्वासनमा रहेका माल्या २०१६ देखि भारत नफर्की बसेका छन्।

विजय माल्या को हुन् ?
एक समयका चर्चित भारतीय व्यवसायी, राजनीतिज्ञ, र “किंग अफ गुड टाइम्स” भनेर चिनिने माल्या पछिल्लो समय भारतको सबैभन्दा विवादास्पद व्यक्ति हुन् ।

माल्या भारतको बहुराष्ट्रिय कम्पनी युनाइटेड ब्रुअरीज ग्रुप (युबी ग्रुप) का अध्यक्ष थिए। यस समूहले किङफिसर बियर उत्पादन गर्छ, जुन भारतमा मात्र नभई संसारभरि प्रख्यात छ।

त्यसपछि उनले २००५ मा एयरलाइन्स उद्योगमा पाइला हाले र किङफिसर एयरलाइन्स सुरु गरे । सुरुमा यो एयरलाइन लक्जरी सेवाका कारण चर्चित थियो, तर केही वर्षमै गम्भीर आर्थिक संकटमा प¥यो।

माल्याले विभिन्न सरकारी र निजी बैंकहरू (जस्तै एसबिआइ, पञ्जाब नेश्नल बैंक आदि) बाट ठूलो रकम ऋण लिएर किङफिसर एयरलाइन्स चलाए। एयरलाइन्स घाटामा गयो र २०१२ मा पूर्ण रूपमा बन्द भयो।

त्यसपछि उनीमाथि बैंकहरूलाई गलत विवरण देखाएर ऋण लिएको, धितो नदिई वा नन–ब्याक गरान्टीमा रकम हिनामिना गरेको आरोप लाग्यो ।

भारतमा आर्थिक अपराध अनुसन्धान हुँदै गर्दा मार्च २०१६ मा उनले भारत छाडेर युकेको लागि उडान भरे, त्यसपछि फर्किएनन्। भारत सरकारले उनलाई “भगौडा आर्थिक अपराधी“ घोषित ग¥यो र उनलाई फर्काउन प्रत्यर्पण प्रक्रिया सुरु ग¥यो।

माल्याविरुद्ध भारतमा धोखाधडी, पैसा शुद्धिकरण र बैंक ऋण नतिर्ने जस्ता मुद्दा चलिरहेका छन्। भारतले उनलाई यूकेबाट भारत ल्याउन प्रयास गरिरहेको छ । युकेको अदालतले प्रत्यर्पण आदेश दिए पनि माल्याले त्यसमा अपिल र शरण माग गर्दै केस लम्ब्याउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्