उद्योग परिसंघको गभर्नरसँग छलफल, महत्वपूर्ण नीति सुधारको लागि आग्रह « Arthapath.com
१ असार २०८२, आईतबार

उद्योग परिसंघको गभर्नरसँग छलफल, महत्वपूर्ण नीति सुधारको लागि आग्रह



काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल (सीएनआई)ले राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसँग मुलुकको हालको आर्थिक अवस्था र सुधारका सम्भाव्य नीतिहरूका विषयमा छलफल गरेको छ ।

परिसंघ अध्यक्ष राजेश कुमार अग्रवालको नेतृत्वमा गएका टोलीले राष्ट्र बैंकसँग समग्र अर्थतन्त्र चलायमान बनाउने उपायमा स्पष्ट रणनीति ल्याउन आग्रह गरेको छ ।

छलफलमा अध्यक्ष अग्रवालले पछिल्लो तीन वर्षदेखि अर्थतन्त्रले भोग्दै आएको माग पक्षको संकुचन, निजी क्षेत्रको लगानीमा आएको मन्दी र बैंकिङ प्रणालीमा निष्क्रिय पूँजीको परिचालनमा देखिएको चुनौतीप्रति ध्यानाकर्षण गराएका थिए ।

उनले बैंकहरूसँग रहेको लगानीयोग्य रकमलाई उत्पादक क्षेत्रमा परिचालन गरिने नीतिगत व्यवस्था आवश्यक रहेको बताउँदै बताए । यसबाट रोजगार सृजनासँगै समग्र आर्थिक गतिविधि तीव्र बनाउन सकिने अग्रवालको भनाई छ ।

अग्रवालले राष्ट्र बैंकबाट दरखास्तपत्र प्रणालीको सरलीकरण, सूक्ष्म, साना तथा मझौला उद्योगको प्रवद्र्धन र विदेशी लगानीमैत्री वातावरण सृजना गर्ने नीतिगत सुधारहरू अपेक्षित रहेको उल्लेख गरे ।

सोही अवसरमा गभर्नर प्रा. डा. पौडेलले परिसंघका सुझावहरूको सराहना गर्दै बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि कार्यदल गठन गरिएको जानकारी गराए ।

उनले उद्योग क्षेत्रको भूमिकालाई अर्थतन्त्रको मेरुदण्डका रूपमा चित्रण गर्दै निजी क्षेत्रको सहभागितामा नीतिगत समन्वय आवश्यक रहेको बताए ।

छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरू हेम राज ढकाल, अमित मोर, तथा महासचिव डा. घनश्याम ओझालगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्