बाढीपहिरोले देशभर १० राजमार्ग पूर्ण अवरुद्ध, केही एकतर्फी सञ्चालनमा

काठमाडाैं । देशका विभिन्न भूभागमा लगातार भइरहेको वर्षासँगै आएको बाढी र पहिरोका कारण १० प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
मुलुकका विभिन्न भूभागमा पर्ने यी राजमार्गहरूमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएकाे छ ।
अवरुद्ध हुने मुख्य राजमार्गहरूमा सङ्खुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीको दरवाङ सडक, नवलपरासीस्थित पूर्व–पश्चिम राजमार्ग, डोल्पाको भेरी करिडोर, रुकुम पश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङको जयपृथ्वी राजमार्ग रहेका छन्। यी क्षेत्रहरूमा पहिरो र नदीमा पानीको सतह अत्यधिक बढेपछि यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो।
यता, केही सडक खण्ड भने एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। बनेपा–नाला–भक्तपुर सडक, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीको केही भाग, तथा रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ।
सार्वजनिक आवागमन प्रभावित हुँदा सर्वसाधारण, विद्यार्थी, र बिरामीहरू बढी मारमा परेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायहरूले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेका छन्।
सरकारले पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य तिब्र पार्ने तयारी गरिरहेको छ। मौसम विभागले अझै केही दिन भारी वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।