गोल्डम्यान स्याक्समा वरिष्ठ सल्लाहकार रूपमा काम गर्दै बेलायतका पूर्व प्रधानमन्त्री सुनक « Arthapath.com
२६ असार २०८२, बिहीबार

गोल्डम्यान स्याक्समा वरिष्ठ सल्लाहकार रूपमा काम गर्दै बेलायतका पूर्व प्रधानमन्त्री सुनक



एजेन्सी । बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान स्याक्समा वरिष्ठ सल्लाहकारको रूपमा नियुक्ति पाएका छन्।

उनले सन् २०२४ को जुलाईमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। अब उनी आंशिक समय दिँदै बैंकका ग्राहकहरूलाई विश्व राजनीति र अर्थतन्त्रबारे आफ्ना अनुभव र विश्लेषणमार्फत सल्लाह दिनेछन्।

ऋषि सुनक अहिले पनि इंग्ल्याण्डको रिचमन्ड र नर्थअलर्टन क्षेत्रबाट कन्जर्भेटिभ पार्टीका सांसद रहेका छन्। उनीले सन् २००० मा इन्टर्नका रूपमा गोल्डम्यान स्याक्समा आफ्नो पेशागत यात्रा सुरु गरेका थिए र सन् २००१ देखि २००४ सम्म विश्लेषकको रूपमा काम गरेका थिए।

बैंकका अध्यक्ष तथा सीईओ डेविड सोलोमनले सुनकलाई पुनः स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्। सुनकले बैंकका ग्राहकहरूलाई सल्लाह दिने मात्र होइन, विश्वभर रहेका गोल्डम्यान स्याक्सका कर्मचारीहरूसँग ज्ञान आदानप्रदानमा पनि सहभागी हुने बताइएको छ।

उनी यस भूमिकाबाट प्राप्त हुने तलब भने ‘द रिचमन्ड प्रोजेक्ट’ नामक परोपकारी संस्थामा दान दिनेछन्। उक्त संस्था सुनक र उनकी पत्नी अक्षता मुरटीले मिलेर बेलायतमा अंकगणितीय शिक्षा प्रवर्द्धनका लागि स्थापना गरेका हुन्।

बेलायतको एडकुबा (एड्भाइजरी कमिटी अन बिजनेश अपोइन्टमेन्ट) ले सुनकको नयाँ भूमिकामा केही जोखिम रहेको जनाउँदै, उनले प्रधानमन्त्री हुँदा पाएको जानकारीको अनुचित फाइदा उठाउन नदिने शर्तहरू राखेको छ। उनले अन्य सरकार वा सार्वभौम कोषलाई सल्लाह दिन नपाउने र प्रधानमन्त्री हुँदा प्रत्यक्ष सम्बन्ध भएका कुनै ग्राहकलाई सल्लाह दिन पनि निषेध गरिएको छ।

सुनक यसअघि पनि स्ट्यानफोर्ड युनिभर्सिटीको हुभर इन्स्टिच्युट र अक्सफोर्ड विश्वविद्यालयको ब्लाभाटनिक स्कूल अफ गभर्नमेन्टमा संलग्न भइसकेका छन्।

पूर्व प्रधानमन्त्रीहरूमाझ निजी कम्पनीहरू वा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा वक्ताको रूपमा कार्य गर्नुपर्ने चलन छ, र सुनक पनि यही मार्गमा अघि बढेका देखिन्छन्।


प्रतिक्रिया दिनुहोस्