प्रभु महालक्ष्मी लाइफको ८ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा, नगद लाभांश पनि स्वीकृत

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने निर्णय गरेको ८ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरिसकेको छ।
जेठ २६ गते सम्पन्न कम्पनीको ८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयरका साथै ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
लाभांश वितरणका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार जेठ १४ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूले मात्र बोनस तथा नगद लाभांश पाउने छन्।
बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता तथा सूचीकृत भई अभौतिक रूपमा कारोबार योग्य भइसकेको कम्पनीले जनाएको छ।
त्यस्तै, जेठ १५ गतेसम्म शेयर धितो राखेर ऋण लिएका शेयरधनीहरूका हकमा भने बोनस शेयर ऋण दिने बैंक वा वित्तीय संस्थाको नाममा रोक्का गरिएको छ।
बोनस शेयर खातामा आएसँगै अब लगानीकर्ताले दोस्रो बजारमा समेत यसको कारोबार गर्न पाउनेछन्।