सरकारी खर्चका लागि भुक्तानी गर्ने आज अन्तिम दिन, लक्ष्य भेट्न अझै १ खर्ब ९५ अर्ब खर्च गर्नु पर्ने « Arthapath.com
२५ असार २०८२, बुधबार

सरकारी खर्चका लागि भुक्तानी गर्ने आज अन्तिम दिन, लक्ष्य भेट्न अझै १ खर्ब ९५ अर्ब खर्च गर्नु पर्ने



काठमाडौं । आज बुधबार (असार २५) आर्थिक वर्ष २०८१/८२ मा हुने सरकारी खर्चका लागि भुक्तानी गर्ने अन्तिम रहेकाे छ।

महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि कुनै नयाँ चेक जारी गर्न निषेध गरेपछि, चालु वर्षमा भएका अत्यावश्यक बाहेकका सबै खर्च आजभित्रै भुक्तानी गरिसक्नु पर्छ।

सरकारी तथ्यांकअनुसार असार २४ (मंगलबार) सम्म सरकारको कुल खर्च ७८.८४ प्रतिशतमा सीमित छ। चालु आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो। यसमा चालू खर्चतर्फ ११ खर्ब ४० अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ छुट्याइएको थियो।

तर, संशोधित अनुमान अनुसार सरकारले १६ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने आँकलन गरेको छ। यस्तै, असार २४ गतेसम्म १४ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ खर्च भइसकेको छ, जुन कुल लक्ष्यको ७८.८४ प्रतिशत मात्र हो।

यसमध्ये चालुतर्फ ९ खर्ब ६४ अर्ब १ करोड, पुँजीगततर्फ १ खर्ब ८६ अर्ब ६१ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यो क्रमशः ८४.५१ प्रतिशत, ५२.९६ प्रतिशत र ८६.०३ प्रतिशत बराबर हो ।

संशोधित खर्च लक्ष्य पुरा गर्न असार २५ भित्र नै थप १ खर्ब ९५ अर्ब ७९ करोड रुपैयाँ बराबरको भुक्तानी दिनुपर्ने देखिन्छ। योमध्ये ४५ अर्ब ४७ करोड चालू खर्च, १ खर्ब ७ अर्ब २५ करोड पुँजीगत खर्च र ४२ अर्ब ५० करोड वित्तीय व्यवस्थातर्फ खर्च गर्नु पर्नेछ।


प्रतिक्रिया दिनुहोस्