रसुवागढीको बाढीले सवारीसाधन आपूर्ति ठप्पी, चाडपर्वको तयारीमा असरः नाइमा « Arthapath.com
२५ असार २०८२, बुधबार

रसुवागढीको बाढीले सवारीसाधन आपूर्ति ठप्पी, चाडपर्वको तयारीमा असरः नाइमा



काठमाडौं। रसुवागढी नाकामा मंगलबार आएको भीषण बाढीका कारण नेपाल–चीनबीचको सवारीसाधन आपूर्ति प्रणालीमा गम्भीर अवरोध आएको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले जनाएको छ।

चाडपर्व नजिकिँदै गर्दा आयातमा आएको अवरोधले सवारीसाधनको अभाव हुने देखिएको छ। नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले एक विज्ञप्ति जारी गर्दै रसुवागढीको ‘मितेरी पुल’ बगाएको घटनाले सवारीसाधन आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको बताइन्।

उनका अनुसार चीनबाट आयात हुने ६० प्रतिशतभन्दा बढी सवारीसाधन यही नाका हुँदै नेपाल भित्रिने गरेकाले बाढीको असर निकै ठूलो देखिएको छ। अहिले चिनियाँ भन्सारबाट क्लियर भइसकेका धेरै गाडीहरू नेपाल प्रवेश गर्न नपाएका कारण आयातकर्तालाई ठूलो आर्थिक क्षति पुगेको बताइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो अवस्था उपभोक्ता र बजार प्रणालीमा पनि प्रत्यक्ष असर पार्नेछ। चाडपर्वको तयारीमा रहेका उपभोक्ताले समयमै सवारीसाधन नपाउने सम्भावना बढेको छ।’

नाइमाले सम्बन्धित निकायसँग बिकल्प नाकाको व्यवस्थापन र आपूर्ति सहज बनाउने पहल गर्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्