बैंकिङ क्षेत्रको दबाब कायमैः ११ महिनामा निष्क्रिय सम्पत्तिमा दोहोरो अंकको उछाल « Arthapath.com
८ असार २०८३, सोमबार

बैंकिङ क्षेत्रको दबाब कायमैः ११ महिनामा निष्क्रिय सम्पत्तिमा दोहोरो अंकको उछाल



काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति उल्लेख्य रूपमा बढेको देखिएको छ।

खराब कर्जा असुली कमजोर हुँदै जाँदा र कर्जा विस्तार हुन नसक्दा चालु आर्थिक वर्षको ११ महिनामा मात्रै यस्तो सम्पत्तिमा १० अर्ब रुपैयाँभन्दा बढीको वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

हाल बैंकहरू कर्जा विस्तार गर्न सकिरहेका छैनन् भने पुरानो कर्जा फिर्ता लिन पनि कठिन भइरहेको छ। यसै कारण गैरबैंकिङ सम्पत्तिको भार थपिँदै गएको छ, जसले बैंकको लागत झनै बढाइरहेको छ।

बजारमा निजी क्षेत्रको कर्जाप्रति माग सुस्त हुँदा बैंकिङ क्षेत्र अझै दबाबमा छ। तर, निक्षेप भने निरन्तर बढ्दो छ, जसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक–पटक मौद्रिक प्रणालीबाट तरलता सोस्ने उपाय अपनाइरहेको छ।

राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल खराब कर्जा अनुपात (एनपीएल) ५.२४ प्रतिशत पुगेको छ। सोही अवधिमा गैरबैंकिङ सम्पत्तिको आकार ४५ अर्ब ७० करोड रुपैयाँभन्दा बढी पुगेको छ, जुन अघिल्लो वर्षको अन्त्य ९असार मसान्त० मा ३५ अर्ब ५० करोड रुपैयाँ थियो।

विस्तृत रूपमा हेर्दा, वाणिज्य बैंकहरूको एनपीएल ५.०५ प्रतिशत पुगेको छ, र उनीहरूका नाममा जम्मा ३८ अर्ब ७९ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै ८ अर्ब ६० करोडले बढी हो।

यस्तै यस अवधिमन विकास बैंकहरूमा पनि यस्तै अवस्था देखिएको छ । विकास बैंकहरुको एनपीएल ५.५६ प्रतिशत पुगेको छ र गैरबैंकिङ सम्पत्ति ४ अर्ब १६ करोडभन्दा बढीमा पुगेको छ, जुन १० महिनाअघिको तुलनामा ७९ करोड रुपैयाँले वृद्धि भएको हो।

फाइनान्स कम्पनीहरूको अवस्था अझ चुनौतीपूर्ण देखिएको छ। ती कम्पनीहरूको एनपीएल १३.०४ प्रतिशतसम्म पुगेको छ।

फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति जेठ मसान्तसम्ममा २ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तमा १ अर्ब ९६ करोड रुपैयाँ मात्र थियो।

यस हिसाबले फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्तिमा ७८ करोड रुपैयाँभन्दा बढीको वृद्धिदर देखिएको छ।


प्रतिक्रिया दिनुहोस्