अष्ट्रेलियामा १६ वर्ष मुनीका बालबालिकालाई युट्युबमा समेत प्रतिबन्ध
काठमाडौं । यसअघि १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएकाे अष्ट्रेलियाले अब यसमा युट्युबलाई पनि समेटेकाे छ ।
यसअघि युट्युबलाई प्रतिबन्धको दायराबाट बाहिर राख्ने योजना भए पनि पछिल्लो निर्णय अनुसार अब यस प्लेटफर्ममा पनि प्रतिबन्ध लागु हुनेछ।
यो प्रतिबन्ध आगामी डिसेम्बरदेखि लागू हुने तयारीमा छ र यसले टिकटक, इन्स्टाग्राम, फेसबुक, एक्स (पूर्व ट्विटर), स्न्यापच्याट जस्ता लोकप्रिय सामाजिक सञ्जालहरूमा किशोर-किशोरीको पहुँच सीमित गर्नेछ।
प्रतिबन्ध लागु भएपछि १६ वर्ष मुनिका प्रयोगकर्ताहरूले युट्युब भिडियो हेर्न त सक्नेछन्, तर खाता बनाउन, भिडियो अपलोड गर्न वा अन्य किसिमको अन्तरक्रिया गर्न पाउने छैनन्।
गुगल अन्तर्गतको युट्युबले आफू सामाजिक सञ्जाल नभएको र युवाहरूमाझ शैक्षिक तथा रचनात्मक उपयोगिताले यसको मूल्य रहेको भन्दै यसलाई प्रतिबन्धमा नराख्न आग्रह गर्दै आएको थियो। तर अष्ट्रेलियाका इ-सेफ्टी कमिस्नर जुली इन्म्यान ग्रान्टले १० देखि १५ वर्षका बालबालिकाहरूले ‘हानिकारक सामग्री’ सबैभन्दा बढी युट्युबमै देखेको उल्लेख गर्दै यसलाई प्रतिबन्धमा समावेश गर्न सिफारिस गरेकी थिइन्।
सामाजिक सञ्जालले हाम्रो बच्चाहरूलाई सामाजिक हानि पुर्याइरहेको भन्दै प्रधानमन्त्री एन्टोनी अल्बानेजीले हामी अष्ट्रेलियाली आमाबुबाको पक्षमा उभिएकाे बताएका छन् ।
नयाँ नियम अनुसार यदि उनीहरूले उमेर सीमा पालना नगरेमा सामाजिक सञ्जाल कम्पनीहरूलाई अष्ट्रेलियन डलर ५ करोड (अमेरिकी डलर ३२.५ मिलियन) सम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको छ । कम्पनीहरूले अब बालबालिकाको खाता बन्द गर्नुपर्नेछ र नयाँ खाता खोल्न रोक लगाउनु पर्नेछ।
प्रस्तावित कानुनमा अनलाइन गेमिङ, मेसेजिङ, शिक्षा र स्वास्थ्य एपहरू भने प्रतिबन्धको दायरामा नपर्ने बताइएको छ, किनभने ती प्लेटफर्महरूले कम सामाजिक हानि पुर्याउने विश्वास गरिएको छ।
अष्ट्रेलियाको यो कदमले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ। नर्वेले यस्तै प्रकृतिको प्रतिबन्ध घोषणा गरिसकेको छ भने बेलायतले पनि त्यस्तो नियम ल्याउने सम्भावनाको अध्ययन गरिरहेको छ।
















