नास-आइटीले गठन गर्यो साइबर सुरक्षा समिति
काठमाडाैं । नेपाल एसोसिएसन फर सफ्टवेयर तथा सूचना प्रविधि सेवासम्बन्धी कम्पनीहरू (नास आइटी) ले देशको डिजिटल संरचना सुरक्षित, भरपर्दो र भविष्यप्रति संवेदनशील बनाउन आधिकारिक साइबर सुरक्षा समिति गठन गरेको छ।
उक्त समितिको उद्देश्य नेपालमा साइबर सुरक्षाको स्तरलाई सुदृढ बनाउँदै सूचना प्रविधिको दिगो र सुरक्षित विकासलाई प्रोत्साहन गर्नु रहेको छ।
समितिमा सूचना सुरक्षा क्षेत्रका विज्ञहरू र नास आइटीमा आबद्ध सदस्य कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको छ। समितिले रणनीतिक तथा व्यवहारिक उपायहरू अपनाउँदै नेपालमा साइबर सुरक्षा सम्बन्धी जागरूकता, नीतिगत सुधार र सहकार्य प्रवर्द्धनमा नेतृत्व गर्नेछ।
समिति प्रमुखमा भैरव टेक्नोलोजी सेक्युरिटी प्रालिका विजय लिम्बु सेनिहाङ रहेका छन् भने अन्य सदस्यहरूमा घनश्याम ओली (बिज सर्भ आईटी), प्रज्वल गौतम (एमिनेंस वेज प्रालि), रोशन पोखरेल (लगपोइन्ट प्रालि) र सम्पन्न श्रेष्ठ (जेनेस सोलुसन प्रालि) रहेका छन्।
यस्तै नास आइटी सल्लाहकार सञ्चालक समितिका सल्लाहकारहरूमा अभय पौडेल (गोक्यो ल्याब्स प्रालि), दिपेन चापागाईं (लगपोइन्ट प्रालि) र नारायण कोइराला (इमिनेन्स वेज प्रालि) सहभागी छन्।
नवनिर्मित समितिको भिजन हो, नेपालको सूचना प्रविधि तथा सफ्टवेयर उद्योगलाई सुरक्षित, बलियो र विश्वसनीय बनाउने, ताकि देशको डिजिटल पूर्वाधारको सुरक्षा कायम राख्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न सकियोस्। साथै, मिशन को रूपमा यसले ज्ञानको आदानप्रदान, उपयोगी नीतिहरू निर्माण, तथा निजी, सरकारी, शैक्षिक र अन्य समूहबीच सहकार्यको वातावरण विकास गर्नेछ।
समितिको मुख्य उद्देश्यहरूमा प्राविधिक तथा रणनीतिक निर्देशन दिन विज्ञहरूको विशेषज्ञता प्रयोग गर्ने, स्पष्ट तथा व्यावसायिक साइबर सुरक्षासम्बन्धी नियम र कानुनहरूका लागि वकालत गर्ने, विभिन्न संस्थाहरूबीच सहकार्य प्रवर्द्धन गर्ने, तालिम, गोष्ठी र अनुसन्धानमार्फत ज्ञानको आदानप्रदान गर्ने, र स्थानीय स्टार्टअप तथा सेवा प्रदायकहरूलाई सघाउँदै अन्तर्राष्ट्रिय बजारमा नेपालको साइबर सुरक्षा उद्योगलाई विस्तार गर्ने रहेका छन्।
यो समिति नेपालमा साइबर सुरक्षाको सुदृढीकरणका लागि एक समन्वयकारी तथा प्रेरणादायी माध्यमका रूपमा क्रियाशील हुनेछ। यसले अन्तरक्रिया, रचनात्मक सोच र सामूहिक पहलद्वारा देशलाई आगामी प्रविधि चुनौतीहरूको सामना गर्न सशक्त बनाउने विश्वास लिएको छ।
















