बूढानीलकण्ठमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निस्क्रिय
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-२, तल्लो भंगाल क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेको छ।
चुनखेल जाने सडक पेटीमा सेतो कागजले बेरिएको अवस्थामा प्रेसर कुकर भेटिएपछि स्थानीयमा त्रास फैलिएको थियो।
तल्लो भंगालस्थित एक मसला उद्योग नजिकै मंगलबार राति करिब १२ बजे उक्त शंकास्पद वस्तु फेला परेको थियो। सडक पेटीमा बेवारिसे कुकर देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।
शंकास्पद वस्तु फेला परेको खबर पाएलगत्तै सुरक्षा सतर्कता अपनाइएको थियो। बुधबार बिहान करिब ७ बजे चन्दन नाथ गणबाट खटिएको नेपाली सेनाको विशेष बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो।
सेनाले निष्क्रिय पारेको उक्त कुकरलाई खोलेर हेर्दा कुनै विष्फोटक पदार्थ नभई भित्र सलाईका काँटी र इँट्टाका टुक्रा मात्र भेटिएको छ। कसैले सर्वसाधारणमा त्रास फैलाउने उद्देश्यले उक्त वस्तु राखेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। अहिले उक्त क्षेत्रको जनजीवन सामान्य बनिसकेको छ।


















