‘रेड डट अवार्ड’ विजेता इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडाैं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्ड याडियाको बहुप्रतिक्षित इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ अब नेपाली सडकमा देखिने भएकाे छ।
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले साेमबार एक कार्यक्रमबीच इलेक्ट्रिक मोटरसाइकल याडिया किनेस सार्वजनिक गरेकाे हाे ।
परम्परागत इलेक्ट्रिक स्कुटर वा बाइकको तुलनामा उत्कृष्ट गति, शक्तिशाली प्रदर्शन, रोमाञ्चक राइडिङ अनुभव र आकर्षक डिजाइनलाई प्राथमिकता दिएर निर्माण गरिएको यो मोटरसाइकल विशेषगरी आधुनिक प्रविधि रुचाउने नेपाली राइडरहरूका लागि लक्षित छ।
प्रविधि र क्षमताका हिसाबले निकै बलियो मानिएको याडिया किनेसमा ११ किलोवाटको मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएमसम्मको टर्क दिन्छ। यसले मात्र ३ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति समात्न सक्छ भने यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ।
नेपालका कठिन र भिरालो सडकहरूलाई मध्यनजर गर्दै यसमा २० डिग्रीसम्मको उकालो सहजै काट्न सक्ने क्षमता छ। साथै, यसमा रहेको ४.६ किलोवाट आवरको ब्याट्रीलाई टिकाउ र सुरक्षित राख्न ४० भन्दा बढी सुरक्षा सुविधायुक्त स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली (बीएमएस) समेत समावेश गरिएको छ।
उत्कृष्ट डिजाइन र नवीन प्रविधिकै कारण अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘रेड डट डिजाइन अवार्ड’ समेत जित्न सफल यस प्रिमियम मोटरसाइकलको मूल्य नेपाली बजारमा ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ। अत्याधुनिक फिचर्स र दमदार प्रफर्मेन्स खोज्ने बाइक प्रेमीहरूका लागि यो एउटा बलियो र उत्कृष्ट विकल्प बन्ने कम्पनीले विश्वास लिएको छ।












