भारतमा इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीको बजारमा उछालः टीभीएस र बजाजको बर्चस्व, माग धान्न एथरलाई धौ-धौ « Arthapath.com
१८ असार २०८३, बिहिबार

भारतमा इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीको बजारमा उछालः टीभीएस र बजाजको बर्चस्व, माग धान्न एथरलाई धौ-धौ



काठमाडाैं । भारतमा इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधन (ई-टु-व्हीलर) को बजारमा अभूतपूर्व उछाल आएको छ।

समग्र दुईपाङ्ग्रे सवारी साधनको कुल बजारमा इलेक्ट्रिक सवारीको हिस्सा जुन महिनामा १० प्रतिशतको विन्दु पार गर्ने दिशामा अघि बढेको छ। मागमा आएको यो तीव्र वृद्धिका कारण कतिपय उत्पादनकर्ता (ओईएम) हरूलाई बजारको माग धान्न समेत धौ-धौ परिरहेको छ।

बजारमा माग कतिसम्म बढेको छ भने ‘एथर इनर्जी’ को ‘रिज्टा’ मोडल खरिद गर्न ग्राहकले अहिले ४५ देखि ६० दिनसम्म कुर्नुपर्ने अवस्था सिर्जना भएको छ।

कम्पनीसँग सामान्यतया ३० दिनका लागि पुग्ने मौज्दात (स्टक) रहने गरेकोमा अहिले केवल ४ दिनका लागि मात्र बाँकी छ। एथरका प्रमुख व्यापार अधिकारी रवनीत सिंह फोकेलाका अनुसार पछिल्ला केही महिनामा इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीको बजार कम्पनीहरूले अनुमान गरेभन्दा निकै तीव्र गतिमा बढेको छ।

युद्धको चिन्ता र सरकारी नीतिका कारण मागमा वृद्धि, उत्पादनमा अवरोध

फोकेलाका अनुसार अमेरिका, इरान र इजरायलबीचको दुई-तीन महिना लामो युद्धका कारण आपूर्ति शृङ्खलामा अवरोध, एलपीजी ग्यासको अभाव तथा पश्चिम बङ्गलाको चुनावका कारण कारखानाबाट श्रमिकहरू बाहिरिँदा उत्पादनमा असर परेको थियो।

यसले गर्दा बजारमा माग र आपूर्तिबीच असन्तुलन देखिएको हो। हाल होसुर प्लान्टको उत्पादन क्षमता प्रतिमहिना ३५ हजार युनिटमा सीमित भए पनि आगामी नोभेम्बर-डिसेम्बरसम्ममा सुरु हुने नयाँ प्लान्टले थप ४२ हजार युनिट क्षमता थप्नेछ।

‘वाहन पोर्टल’ को तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको डिसेम्बर त्रैमासिकसम्म प्रतिमहिना १ लाख १० हजारदेखि १ लाख १५ हजार युनिट रहेको यो बजार हालैको त्रैमासिकमा १ लाख ७० हजार युनिटको हाराहारीमा पुगिसकेको छ।

जनवरीमा १ लाख २४ हजार युनिट रहेको बजार मार्चमा १ लाख ९२ हजार माथि पुगेको थियो। युद्धका कारण पेट्रोलको उपलब्धता र मूल्यमा पर्न सक्ने असरको चिन्ताले पनि ग्राहक यतातर्फ आकर्षित भएको अनुमान गरिएको छ।

यसका साथै ‘दिल्ली ईभी पोलिसी’ जस्ता राज्य सरकारका कडा नीति र ‘पीएम ई-ड्राइभ’ अनुदानका कारण पनि बजारले गति लिएको हो। सन् २०२६ को पहिलो छ महिनामा मात्रै ९ लाख २० हजारभन्दा बढी इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी बिक्री भइसकेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतभन्दा बढीको वृद्धि हो।

बजारमा टीभीएस र बजाजको बर्चस्व, ओला, हिरो र एम्पेयर पनि दौडमा

आपूर्तिमा आएको अवरोधका कारण एथरको बजार हिस्सा पहिलेको तुलनामा केही घटेर जुन महिनामा १६.५ प्रतिशत (२८ हजार युनिटभन्दा बढी) मा सीमित भएको छ। वाहन डटकमको तथ्याङ्क अनुसार ‘बजाज अटो’ २२ प्रतिशतभन्दा बढी बजार हिस्सा र ३९ हजारभन्दा बढी युनिट बिक्री गर्दै बलियो स्थानमा छ भने ‘टीभीएस मोटर कम्पनी’ २५ प्रतिशतभन्दा बढी हिस्सा र झण्डै ४४ हजार युनिट बिक्री गर्दै बजारको नेतृत्व गरिरहेको छ।

यता ‘ओला इलेक्ट्रिक’ ले पनि आफ्नो बजार बढाउँदै जुन महिनामा १५ हजार युनिट बिक्री गरी ८ प्रतिशत हिस्सा ओगटेको छ। ‘हिरो मोटोकर्प’ पनि जुन महिनामा ११ प्रतिशत हिस्सासहित २० हजार युनिटको नजिक पुगेको छ।

इलेक्ट्रिक सवारीको यो दौडमा ‘ग्रिभ्स इलेक्ट्रिक’ को ‘एम्पेयर’ ब्रान्डले पनि राम्रो बजार पाएको छ। जुन महिनामा यो ब्रान्ड छैटौँ स्थानमा पर्न सफल भएको छ।

कम्पनीको भनाइ अनुसार अघिल्लो महिनाको तुलनामा यसको बिक्री ४१ प्रतिशतले बढेको छ भने गत वर्षको तुलनामा व्यापार दोब्बर हुँदै जुन महिनामा १० हजारभन्दा बढी युनिट बिक्री गरेर एम्पेयरले बजारको ५.६ प्रतिशत हिस्सा आफ्नो पोल्टामा पारेको छ।


प्रतिक्रिया दिनुहोस्