बिद्युत अवरोधको बिषयमा उद्योग व्यापार संघको विद्युत् प्राधिकरणलाई गम्भिर ध्यानाकर्षण « Arthapath.com
२५ असार २०८३, बिहिबार

बिद्युत अवरोधको बिषयमा उद्योग व्यापार संघको विद्युत् प्राधिकरणलाई गम्भिर ध्यानाकर्षण



काठमाडौं। बिगत लामो समयदेखि मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगहरूले खेप्दै आएको अनिर्धारित, अनियमित तथा अघोषित विद्युत् आपूर्तिको समस्या वर्षायाममा समेत पुनः चर्किएकोप्रति मोरङ उद्योग व्यापार संघको गम्भीर ध्यानाकर्षण भएको छ।

बिना कुनै पूर्वसूचना दैनिक रूपमा पटक–पटक हुने ट्रिपिङ, न्यून भोल्टेज तथा अघोषित लोडसेडिङका कारण यस क्षेत्रका उद्योग–व्यवसायहरू गम्भीर समस्यामा परेका छन्। नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिमा सुधार भएको दाबी गरिरहे पनि वास्तविकतामा उद्योगहरूले दैनिक घण्टौँसम्म अनिश्चितताको सामना गर्न बाध्य भइरहेका छन्। यस किसिमको अनियमितता, प्राविधिक कमजोरी र लापरवाहीले उद्योग क्षेत्रमाथि चौतर्फी नकारात्मक असर परेको छ।

बारम्बार हुने ट्रिपिङका कारण उद्योगहरूमा जडान गरिएका करोडौँ रुपैयाँ मूल्यका अत्याधुनिक मेसिन, पार्टपुर्जा, विद्युतीय प्यानल तथा सफ्टवेयर प्रणालीहरूमा क्षति पुगिरहेको छ। यसले उद्योगीहरूलाई मर्मत–सम्भारमा ठूलो र अनपेक्षित आर्थिक भार थपेको छ।

विशेषगरी प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य तथा रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरूमा उत्पादन प्रक्रियाका बीचमा अचानक विद्युत् अवरुद्ध हुँदा मेसिनभित्र रहेका कच्चा पदार्थ जम्ने, डढ्ने तथा नष्ट हुने समस्या देखिएको छ। यसबाट करोडौँ रुपैयाँ बराबरको उत्पादन खेर जाने अवस्था सिर्जना भएको छ।

त्यसैगरी विद्युत् आपूर्ति अनियमित हुँदा उद्योगहरूमा कार्यरत हजारौँ श्रमिक घण्टौँसम्म कामविहीन बस्न बाध्य छन्। उत्पादन बन्द भए पनि उद्योगहरूले श्रमिकको पारिश्रमिक, सञ्चालन खर्च तथा अन्य स्थायी खर्च बेहोर्नुपर्ने अवस्था यथावत् छ। यसले नेपाली उद्योगहरूको उत्पादन लागत बढ्नुका साथै स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता कमजोर बन्दै गएको छ।

समयमै उत्पादन सम्पन्न गर्न नसक्दा बजारमा वस्तुको अभाव सिर्जना हुने, मागअनुसार आपूर्ति गर्न नसक्दा उद्योगहरूको विश्वसनीयता घट्ने तथा आयातित वस्तुले बजार ओगट्ने जोखिमसमेत बढेको संघको ठहर छ।

देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको औद्योगिक क्षेत्रलाई पूर्वसूचना तथा स्पष्ट योजना बिना अन्धकारमा राख्नु र उद्योगीहरूको समस्याप्रति सम्बन्धित निकाय उदासीन बन्नु अत्यन्तै दुःखद र गैरजिम्मेवार कार्य हो।

त्यसैले मोरङ उद्योग व्यापार संघ नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित सबै निकायसँग मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ, ट्रिपिङ तथा अनियमित विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्न जोडदार माग गर्दछ।

साथै, प्राविधिक कारणले विद्युत् आपूर्ति अवरुद्ध गर्नुपर्ने अवस्था आएमा त्यसको पूर्वसूचना संघ तथा सम्बन्धित उद्योग–व्यवसायलाई अनिवार्य रूपमा उपलब्ध गराउन, विद्युत् आपूर्तिलाई भरपर्दो, नियमित र गुणस्तरीय बनाउन तथा स्वदेशी उद्योगहरूको संरक्षण र प्रवर्द्धनमा गम्भीरतापूर्वक सक्रिय भूमिका निर्वाह गर्न सम्बन्धित निकायसँग संघ हार्दिक आग्रह गर्दछ।


प्रतिक्रिया दिनुहोस्