आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका नाममा ठगी, दुई जना पक्राउ
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै बेरोजगार युवायुवतीलाई विभिन्न देशमा रोजगारीका लागि पठाइदिने आश्वासन दिएर रकम असुलेपछि सम्पर्कविहीन भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–४ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ बस्दै आएका ३९ वर्षीय दावा योञ्जन रहेका छन्। उनले सर्विया र संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै ७ जनाबाट कुल ११ लाख ४५ हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनलाई २०८३ असार ३० गते भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरिएको हो।
यस्तै, बारा आदर्श कोटवाल गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्दै आएका २७ वर्षीय अनिल कुमार यादव पनि पक्राउ परेका छन्। उनले मलेसिया पठाइदिने भन्दै २ लाख ८७ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित म्यानपावर कम्पनी र वैदेशिक रोजगार विभागबाट आवश्यक जानकारी लिएर मात्रै प्रक्रिया अघि बढाउन तथा आकर्षक तलबको प्रलोभनमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ।













