विद्युत पूर्वाधारमा ८० अर्ब लगानी, एक वर्षभित्र १२ प्रसारण लाइन सम्पन्न गरिने : ऊर्जामन्त्री श्रेष्ठ « Arthapath.com
३२ असार २०८३, बिहिबार

विद्युत पूर्वाधारमा ८० अर्ब लगानी, एक वर्षभित्र १२ प्रसारण लाइन सम्पन्न गरिने : ऊर्जामन्त्री श्रेष्ठ



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् उत्पादनमा भएको उल्लेखनीय वृद्धिसँगै अब प्रसारण र वितरण पूर्वाधारको स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार : चुनौती र स्तरोन्नति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पछिल्लो समय बढ्दो विद्युत् मागका कारण जीर्ण तथा कम क्षमताका प्रसारण र वितरण संरचनाको सुधार अपरिहार्य बनेको बताए।

उनले पर्याप्त विद्युत् उत्पादन हुँदाहुँदै पनि कमजोर पूर्वाधारका कारण पछिल्ला दिनमा केही स्थानमा विद्युत् अवरोध तथा ट्रिपिङको समस्या देखिएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा पूर्वाधार विस्तारलाई तीव्रता दिइने जानकारी दिए।

मन्त्री श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८३/८४ मा विद्युतीय पूर्वाधार विकासका लागि करिब ८० अर्ब रुपैयाँ लगानी गर्ने योजना सरकारले बनाएको छ। यसका अतिरिक्त नेपाल विद्युत् प्राधिकरणको आन्तरिक स्रोतबाट पनि प्रसारण तथा वितरण प्रणालीको विस्तार र स्तरोन्नतिमा ठूलो रकम परिचालन गरिनेछ।

उनले आगामी एक वर्षभित्र रणनीतिक महत्वका १२ वटा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म ६६ केभी वा सोभन्दा माथिका प्रसारण लाइनको कुल लम्बाइ करिब ७ हजार ४८ सर्किट किलोमिटर पुग्नेछ भने आगामी वर्ष थप ८ सय सर्किट किलोमिटर प्रसारण लाइन विस्तार गरिनेछ।

मन्त्री श्रेष्ठले सरकारले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ कार्यान्वयनमा ल्याइसकेको उल्लेख गर्दै हाल प्रतिव्यक्ति वार्षिक विद्युत् खपत करिब ४६० किलोवाट घण्टा रहेको अवस्थामा आगामी १० वर्षभित्र यसलाई १ हजार ५ सय किलोवाट घण्टा पुर्‍याउने लक्ष्य रहेको बताए।

उनले उद्योग, यातायात, कृषि तथा घरायसी क्षेत्रमा विद्युत्को प्रयोग विस्तार गर्दै आन्तरिक खपत बढाउने र अतिरिक्त विद्युत् निर्यातलाई समेत सुदृढ बनाउने सरकारको रणनीति रहेको स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस्