अघोषित लोडसेडिङ र कमजोर विद्युत आपूर्तिले उद्योग प्रभावित : महासंघ अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले देशमा लोडसेडिङ अन्त्य भएको दाबी गरे पनि औद्योगिक क्षेत्रमा अझै अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावका कारण उद्योगहरू समस्यामा परेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले विशेषगरी तराईका औद्योगिक क्षेत्रमा उद्योग सञ्चालनका लागि आवश्यक गुणस्तरको विद्युत उपलब्ध हुन नसकेको बताए।
उनका अनुसार उद्योगहरूमा दैनिक रूपमा नेपाल विद्युत् प्राधिकरणबाट निश्चित समयसम्म उत्पादनमूलक मेसिन सञ्चालन नगर्न र केवल सामान्य प्रयोजनका लागि विद्युत प्रयोग गर्न फोनमार्फत जानकारी आउने गरेको छ। औपचारिक रूपमा लोडसेडिङ नभने पनि व्यवहारमा उद्योगहरूले अघोषित विद्युत कटौती भोग्नुपरेको उनको भनाइ थियो।
‘काठमाडौंलगायत शहरी क्षेत्रमा लोडसेडिङ छैन, तर सीमावर्ती तथा तराईका औद्योगिक क्षेत्रमा उद्योगहरूले अझै पनि अघोषित रूपमा विद्युत कटौतीको समस्या झेलिरहेका छन्,’ उनले भने, ‘पर्याप्त भोल्टेज नहुँदा उद्योगका उपकरणमा क्षति पुग्ने, उत्पादन लागत बढ्ने र उत्पादन प्रक्रिया नै प्रभावित हुने अवस्था छ।’
श्रेष्ठले विद्युत उत्पादन उल्लेखनीय रूपमा बढे पनि प्रसारण र वितरण पूर्वाधार सोही अनुपातमा विस्तार हुन नसक्दा उद्योगहरूले त्यसको प्रत्यक्ष लाभ लिन नसकेको बताए।
उनले औद्योगिक क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या सरकारले गम्भीर रूपमा समाधान गर्नुपर्नेमा जोड दिँदै प्रसारण तथा वितरण प्रणालीको स्तरोन्नति, स्थिर ऊर्जा नीति र गुणस्तरीय विद्युत आपूर्तिलाई प्राथमिकतामा राख्न आग्रह गरे।
सञ्चारमाध्यमले पनि उद्योगहरूले भोगिरहेको वास्तविक अवस्थालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने उनको भनाइ थियो।
‘लोडसेडिङ छैन भन्ने मात्र पर्याप्त हुँदैन। उद्योगहरूले भोगिरहेको वास्तविक अवस्था पनि सार्वजनिक हुनुपर्छ,’ उनले भने, ‘एउटा उद्योगको क्षति भनेको अन्ततः देशकै आर्थिक क्षति हो।’













