बजेटको ’बुस्टर डोज’ले पनि ब्युँझिएन शेयर बजार: सातामै साढे २६ अंक घट्यो नेप्से, किन डराए लगानीकर्ता ? « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बजेटको ’बुस्टर डोज’ले पनि ब्युँझिएन शेयर बजार: सातामै साढे २६ अंक घट्यो नेप्से, किन डराए लगानीकर्ता ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) तेतृत्वका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पूँजी बजारको इतिहासमै सबैभन्दा बढी लगानीकर्तामैत्री र युगान्तकारी बजेट सार्वजनिक गरे ।

शेयर बजारका लागिकर्ताले लामो समयदेखि माग्दै आएको पूँजीगत लाभकरलाई सदाका लागि अन्तिम कर कायम गर्नेदेखि एनआरएनलाई दोस्रो बजारमा खुला गर्ने र एनटिसिको शेयर सर्वसाधारणलाई बेच्नेसम्मका ’ऐतिहासिक घोषणा’ बजेटमा समेटिए ।

तर, विडम्बना ! बजेट आएपछिको पहिलो साताको शेयर बजारले भने सरकारको यो उत्साहजनक नीतिलाई रातो रङ्गले स्वागत गरेको छ । नीति सुध्रिए पनि लगानीकर्ताको खस्किएको मनोविज्ञान तत्काल सुध्रिन नसक्दा यो साता नेप्से परिसूचकमा गिरावट देखिएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन (शुक्रबार) २ हजार ७ सय ८२ मा रहेको नेप्से परिसूचक यो साताको अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा २६.६९ अंकले घटेर २ हजार ७ सय ५५ विन्दुमा ओर्लिएको छ । बजार समग्र रूपमा सुस्त बन्दा पाँच दिनको कारोबारमा दैनिक औसत ५.३३ अंकको गिरावट दर्ता भएको छ ।

यो साता पुरै ५ दिन शेयर काराबोर हुँदा पनि शेयरब बजार भने माथि उठ्न भने सकेन । ती ५ दिनको कारोबार विश्लेषण गर्दा उत्साहभन्दा बढी पर्ख र हेरको अवस्था हाबी भएको प्रष्ट देखिन्छ ।

ऐतिहासिक बजेट तर बजारमा किन परेन प्रभाव ?

नयाँ बजेटमार्फत पूँजीगत लाभकरलाई अन्तिम कर बनाउने दशकौँ पुरानो माग सम्बोधन हुनु, एनआरएनलाई दोस्रो बजारमा भित्र्याउन कानुनी बाटो खोल्नु, र नेप्सेको संरचनात्मक सुधारका योजना आउनु आफैँमा युगान्तकारी कदम हुन् ।

बालेन सरकारको विकासमैत्री राजनीतिक जग र सुशासनप्रतिको प्रतिबद्धताले सिर्जना गरेको बलियो लहरकै कारण यस्तो ऐतिहासिक नीति आएको भन्दै चौतर्फी प्रशंसा भइरहेको छ । तर पनि बजारमा तत्कालै यसको सकारात्मक प्रभाव नदेखिनुका पछाडि केही गम्भीर कारणहरू छन् ।

तर बालेन सरकारले ल्याएको बजेटमा भने क्यापिटल गने ट्याक्समा भने वृद्धि गरिदिएको छ । विगतमा एक वर्ष भन्दा कम समयमा बिक्रीगर्दा नाफामा ७.५ प्रतिशत मत्र तिर्नुपर्ने ट्याक्स वाग्ले बढाएर १० प्रतिशत पुराइदिएका छन् भने एक वर्ष भन्दा बढी समय राखेर बेच्दा नाफामा ५ प्रतिशत लाग्दै करेको कर बढाएर ७.५ प्रतिशत पुराइदिए ।

सोही नीतिको कारण पनि बजारमा चाम घटेको लगानीकर्ताको बुझाई छ । लगानीकर्ताहरूमा विगतका नीतिगत अस्थिरताका कारण अझै पनि “पर्ख र हेर“ को मनोविज्ञान हाबी छ । बजेटमा नीति आए पनि त्यसलाई धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र विनिमय बजार (नेप्से) ले कसरी र कति चाँडो कार्यान्वयन गर्छन् भन्नेमा आशङ्का मेटिएको छैन ।

बजेटको उत्साहमा अल्पकालीन लगानीकर्ता (ट्रेडर्स) हरूले ’बाई अन रुमर्स, सेल अन न्युज’ (हल्लामा किन्ने, समाचार आएपछि बेच्ने) रणनीति अपनाउँदा बजारमा नाफा सुरक्षित गर्ने (प्रफिट बुकिङ) को ओइरो लाग्यो । मौद्रिक नीतिको लचकता र ब्याजदर घट्ने सुनिश्चितता अझै पर्खिरहेका ठूला संस्थागत लगानीकर्ताहरूले तत्कालै नयाँ ठूलो रकम बजारमा पठाउन हतार गरेनन् ।

नीतिगत रूपमा बजार सुरक्षित भए पनि बजारलाई तत्कालै गति दिन आवश्यक पर्ने नयाँ तरलताको प्रवाह नहुँदा बजेटको प्रभाव पहिलो साता फिक्का बन्न पुगेको बजारका जानकारहरु बताउछन् ।

दिनैपिच्छेको उतारचढाव: सोमबारदेखि शुक्रबारसम्मको रोचक

साताभरिको बजारलाई नजिकबाट नियाल्दा हरेक दिन उतारचढावपूर्ण दृश्यहरू देखिए । यो साता कुल १ हजार ७ सय ४६ वटा कम्पनीको कारोबारमार्फत २६ अर्ब ९४ करोड ६७ लाख ६७ हजार १ सय ६१ रुपैयाँ ६६ पैसा बराबरको कारोबार भएको छ । दैनिक औसत कारोबार रकम ५ अर्ब ३८ करोड ९३ लाख ५३ हजार ४ सय ३२ रुपैयाँ रहेको छ ।

साताको पहिलो दिन सोमबार नेप्से परिसूचक २,७५५.३७ विन्दुमा रह्यो । यस दिन ३ सय ४९ वटा कम्पनीका १ करोड ३३ लाख ८३ हजार ८ सय १६ कित्ता शेयर ६३ हजार ७ सय १९ पटक खरिदबिक्री भए ।

जसबाट कुल ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९ सय २८ रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो हप्ताको तुलनामा सोमबार परिसूचकमा २६.७२ अंकको तीव्र गिरावट (०.९६%) आएको थियो, जसले बजेटपछिको पहिलो दिनमै लगानीकर्तामा केही डर पैदा गर्‍यो ।

दोस्रो दिन मंगलबार भने बजारले केही लय समात्यो । नेप्से परिसूचक २२.२१ अंक (०.८०%) ले बढेर २,७७७.५८ विन्दुमा पुग्यो । यस दिन ३ सय ४६ वटा कम्पनीको १ करोड १३ लाख ८५ हजार १ सय कित्ता शेयर ६१ हजार ५ सय २७ पटक कारोबार हुँदा कुल ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २ सय ९९ रुपैयाँ बराबरको कारोबार भयो । सोमबारको गिरावटपछि सस्तो मूल्यमा शेयर उठाउन खोज्दा मंगलबार बजार हरियो देखिएको थियो ।

बुधबार बजारले आफ्नो वृद्धिलाई निरन्तरता दिँदै साताकै उच्च विन्दु २,७८०.२५ हासिल गर्‍यो । यस दिन बजार सामान्य २.६६ अंक (०.०९%) ले मात्र बढे पनि कारोबार रकम भने साताकै उच्च रह्यो ।

३ सय ४७ कम्पनीका १ करोड ३५ लाख २१ हजार ६ सय १९ कित्ता शेयर ६२ हजार १४८ पटक किनबेच हुँदा साताकै सर्वाधिक ५ अर्ब ७३ करोड ८१ लाख ७८ हजार १ सय ६५ रुपैयाँ को कारोबार भयो। यस दिन बजारले सुधारको बलियो संकेत गरेको थियो ।

बुधबारसम्म बढेको बजारमा बिहीबार फेरि प्रफिट बुकिङको चाप देखियो । बिहीबार परिसूचक १३.४६ अंक (०.४८%) ले घटेर २,७६६.७८ विन्दुमा ओर्लियो । कारोबार संख्या र परिमाण दुवैमा संकुचन आयो ।

यस दिन ३ सय ५३ वटा कम्पनीको १ करोड ६ लाख १७ हजार ४ सय ८३ कित्ता शेयर ५१ हजार ६ सय १ पटक मात्र किनबेच भयो, जसबाट साताकै न्यून ४ अर्ब ७० करोड ३२ लाख ६९ हजार ९ सय ४४ रुपैयाँ को मात्र कारोबार हुन सक्यो ।

शुक्रबार बजारमा फेरि सुस्तता छायो । परिसूचक ११.३७ अंक (०.४१%) ले घटेर २,७५५.४१ विन्दुमा बन्द भयो। यस दिन ३ सय ५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८ सय ६८ कित्ता शेयर ५५ हजार ४ सय ६७ पटक किनबेच हुँदा कुल ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८ सय २३ रुपैयाँ को कारोबार भयो ।

बजेटले दीर्घकालीन रूपमा बजार बलियो बनाउने ऐतिहासिक जग बसालेको भए पनि अल्पकालीन लगानीकर्ताको मनोबल धर्मराउँदा बजेटपछिको पहिलो साता शेयर बजार शिथिल नै देखियो ।

२६ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको कुल कारोबार हुनु र दैनिक औसत कारोबार ५ अर्ब ३८ करोड रुपैयाँभन्दा माथि रहनुले बजारमा तरलताको प्रवाह अझै पनि जीवितै छ भन्ने देखाउँछ । आगामी दिनमा यी बजेटका नीतिहरूको हुबहु कार्यान्वयन र राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउँछ भन्ने कुराले नै नेप्सेले ३ हजारको जादुमयी विन्दु चुम्ने वा नचुम्ने कुराको निर्धारण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्