शेयर बजारका लगानीकर्ताले ५० दिनमा यसरी गुमाए ७ खर्ब « Arthapath.com
२६ कार्तिक २०७८, शुक्रबार

शेयर बजारका लगानीकर्ताले ५० दिनमा यसरी गुमाए ७ खर्ब



काठमाडौं । कुनै बेला पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शेयर बजारलाई ‘जुवाघर’ भनेपछि ठूलै तहल्का भएको थियो । यत्ति एक ‘वचन’का भरमा बढ्दै गरेको शेयर बजार एक्कासि ओरालो लागेर २९० अंकसम्म झरेको थियो । शेयर बजारलाई डा. भट्टराईले जस्तै जुवाघर नै भन्न नसकिए पनि यसको उतारचढाव भने बहुत निर्दयि हुन्छ ।

अहिलेकै उदाहरण दिने हो भने पनि शेयर बजारमा लगानी गर्ने ४६ लाखभन्दा बढी लगानीकर्ताको सम्पत्ती पछिल्लो ५० दिनमा ७ खर्ब रुपैयाँ हाराहारी घटिसकेको छ । यसो हुनुमा मुख्य कारण चाहीँ बैंक तथा वित्तीय संस्थामा चर्किएको तरलता समस्या हो । सरकारले बजेट खर्च नगर्ने, तर आयातको ब्यापार ह्वात्तै चुलिन थालेपछि पूँजि निर्माण हुन सकेको छैन ।

यसले बैंकहरु थप ऋण दिनै नसक्ने अवस्थामा पुगगेका छन् भने ब्याजदर धमाधम बढ्दो क्रममा छ । यस्तो परिस्थितिमा पैसा अभाव भोगिरहेका लगानीकर्तालाई झन ठूलो चूनौति भएको छ । पहिलेभन्दा महँगो मूलयमा शेयर किन्न पहिलेभन्दा बढी पैसा चाहिन्छ । यस्तो पैसा बैंकबाटै ऋण आउने हो ।

तर अहिले त्यसरी ऋण आउन नसकेपछि लगानीकर्ता समस्यामा परेका छन् । दुई वर्षअघि सम्म निकै कम लगानीकर्ता सहभागि हुने शेयर बजारमा अहिले लगानकिर्ताको सहभागिता बढेका कारण अझै पनि बजार तीव्र दरमा घटेको छैन । तर यत्तिकै तरलता अभावको समस्या लम्बिने हो भने नेपाली शेयर बजारको आकार दिनानुदिन खुम्चने लगानीकर्ता बताउँछन् ।

यसरी खुम्चिँदै छ बजार

गएको २ भदौमा नेप्से ३१९९.०३ अंकमा पुगेको थियो । त्यस दिन नेप्से ३२२०.८६ अंकसम्म पुगेर झरेको थियो । जुन नेप्सेको इतिहासमा कायम भएको सबैभन्दा उच्च विन्दु हो । यही दिन नेप्सेको बजार पूँजीकरण पनि सबैभन्दा बढी भएको थियो ।

त्यस दिन नेपाली शेयर बजारको आकार ४४ खर्ब ६८ अर्ब ५० करोड रुपैयाँभन्दा बढी पुगेको थियो । यो गत आर्थिक वर्ष २०७७/७८ को अनुमानित कुल गार्हस्थ उत्पादनको १०५ प्रतिशत हो । गत वर्ष नेपालको कुल अर्थतन्त्र नै केवाल ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ बराबरको रहेको केन्द्रिय तथ्यांक विभागको अनुमान छ । नेपाली शेयर बजारको आकारले अर्थतन्त्रको आकारलाई उछिनेको यो नै पहिलो पटक हो ।

त्यसयता नेप्सेमा जम्मा ५० दिन कारोबार भएको छ । तर विहीबार बजार बन्द हुँदासम्म शेयर बजारको आकार २ भदौको तुलनामा ६ खर्ब ८५ अर्ब रुपैयाँभन्दा बढी अन्तरले घटिसकेको छ । जुन उच्चतम विन्दुको १५ प्रतिशतभन्दा ज्यादा हो । अहिले नेप्सेको कुल बजार पूँजिकरण ३७ खर्ब ८३ अर्ब रुपैयाँ छ । जुन केही दिनअघि नेप्से तल्लो स्तरमा झर्दा निकै कम भइसकेको थियो ।

गएको २ कार्तिकमा नेप्से २४८१ अंकसम्म झरेर २५११ अंकमा बन्द भएको थियो । यो नै पछिल्लो बुलरन सकिएपछि बनेको सबैभन्दा तल्लो टेवा विन्दु हो । त्यस दिन बजार बन्द हुँदा नेप्सेको पूँजीकरण ३५ खर्ब १५ अर्ब रुपैयाँमा झरेको थियो । यो उच्चतम विन्दुबाट ९ खर्ब ५३ अर्ब कम हो । यसरी हेर्ने हो भने नेप्सेले पछिलो १४ दिनमा त उल्टै बजारमा लगानीकर्ताको सम्पत्ति २ खर्ब ६७ अर्ब रुपैयाँ बढेको देखिन्छ ।

तर अहिले बजार ओरालो लाग्ने दिशामा देखिएकाले यसरी छोटो अवधिको मूल्यबृद्धिबाट उत्साहित हुनुपर्ने अवस्था छैन । बरु घट्दो बजारमा आउने यस्तो उथलपुथलबाट शीघ्र नाफा आर्जन गर्न लगानीकर्ताका लागि बाटो खुल्न सक्छ ।


प्रतिक्रिया दिनुहोस्