प्रलोभनमा पारेर लगानी गर्न लगाउनेलाई कडा कारबाही गर्ने बोर्डको चेतावनी « Arthapath.com
१८ बैशाख २०७९, आईतवार

प्रलोभनमा पारेर लगानी गर्न लगाउनेलाई कडा कारबाही गर्ने बोर्डको चेतावनी



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाएर लगानीकर्तालाई लगानी गर्न लागउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । धितोपत्र बोर्डले एक सूचना जारी गर्दै सामाजिक संजालमा लगानीकर्ताहरुलाई विभिन्न प्रलोभनमा पारि लगानी गर्न लगाउनेलाई कडा कारवाही गर्ने चेतवानी दिएको हो ।

‘हाल बजारमा केही व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न संस्थाहरुको स्थापना गरी सामाजिक संजाल मार्फत लगानीकर्ताहरुलाई विभिन्न प्रलोभन देखाई लगानी गर्न अहवान गरेका छन् ।’ बोर्डको सूचनामा उल्लेख गरिएको छ, ‘धितोपत्रको दोस्रो बजारको कारोबार र लगानी सम्बन्धी सेवा प्रदान गर्ने गरेको सन्दर्भमा उक्त कम्पनीहरुमा लगानी गर्नु वा उक्त सेवाहरु लिनु अगाडी आवश्यक सचेतता अपनाउनुका साथै बोर्डबाट अनुमति लिए–नलिएको यकिन गरेर मात्र लगानी गर्न तथा सेवा लिनुहुन सम्पूर्ण सेवाग्राहीहरुलाई आग्रह गरिन्छ ।’

धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सो अन्तर्गत बनेका नियमावली, विनियमावली तथा निर्देशिका बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन, धितोपत्रको खरिद तथा विक्री, डिम्याट तथा मेरो शेयर खाता संचालन, लगानी व्यवस्थापन, शेयर रजिष्ट्रार, संस्थागत परामर्श, प्रत्याभूति, आस्वा, सामुहिक तथा विशिष्टिकृत लगानी कोष संचालन जस्ता कार्यहरु धितोपत्र बोर्डबाट अनुमति लिई गर्नुपर्ने व्यवस्था रहेको बोर्डले जनाएको छ । यदि धितोपत्र बोर्डबाट अनुमति नलिई सञ्चालन गरेमा गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने बोर्डको सूचनामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्