धितोपत्र पुँजीकरण साढे २७ खर्ब : सूचीकृत कम्पनी २३९ पुग्यो, कुनको क्षेत्रको हिस्सा कति ? « Arthapath.com
४ कार्तिक २०७९, शुक्रबार

धितोपत्र पुँजीकरण साढे २७ खर्ब : सूचीकृत कम्पनी २३९ पुग्यो, कुनको क्षेत्रको हिस्सा कति ?



काठमाडौं । चालु आर्थिक वर्षको २०७९/८० को भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण २७ खर्ब ४४ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । गत वर्षको भदौ मसान्तमा बजार पुँजीकरण ३९ खर्ब ३५ अर्ब ७४ करोड रहेको थियो ।

चालु आवको भदौमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २३९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् ।

यस्तै, ५७ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। गत वर्षको सोही अवधिमा भने सूचीकृत कम्पनीहरूको संख्या २२० रहेको थियो ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ११.१ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.३ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

नेप्सेमा भदौसम्ममा सूचीकृत ६ अर्ब ८१ करोड शेयरको चुक्ता मूल्य ६ खर्ब ७१ अर्ब १४ करोड रुपैयाँ रहेको छ । चालु आवको दुई महिनामा ७६ अर्ब ६२ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

जसमध्ये ३५ अर्ब बराबरको विकास ऋणपत्र, २३ अर्ब ४४ करोड बराबरको डिबेन्चर, ८ अर्ब ३१ करोडको बोनस सेयर, ५ अर्ब ३९ करोडको साधारण शेयर, ३ अर्ब २७ करोड बराबरको म्युचुअल फण्ड र १ अर्ब २१ करोड बराबरको हकप्रद शेयर सूचीकृत भएका हुन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ८ अर्ब ५२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले ४ अर्ब २४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ३ अर्ब १५ करोडको म्युचुअल फण्ड, ९५ करोडको हकप्रद शेयर र १८ करोडको साधारण शेयर निष्काशनका लागि अनुमति दिएको हो ।


प्रतिक्रिया दिनुहोस्