थप दुई बैंकसहित एकैदिन चार कम्पनीको सेयर कारोबार फुकुवा, कुनको कारोबार खुला हुने मूल्य कति ? « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

थप दुई बैंकसहित एकैदिन चार कम्पनीको सेयर कारोबार फुकुवा, कुनको कारोबार खुला हुने मूल्य कति ?



काठमाडौं । मंगलबार थप दुई वाणिज्य बैंकसहित चार कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको हो ।

नेप्सेले यी चार कम्पनीको आधारभुत सेयरधनीबाहेक अन्यको सेयर कारोबार खुल्ला गरेको हो । अब भोलि बुधवार (मंसिर २१ गते) देखि कारोबारमा आउनेछन् । नियायम निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुला गरि निर्देशिका जारी गरेपछि कम्पनीहरुले कारोबार फुकुवा गर्न नेप्सेमा निवेदन पेश गरेका थिए ।

कम्पनीहरुले मर्जर जानका लागि सम्झौता गरेपछि नेप्सेले सेयर कारोबार रोक्का राखेको थियो । एक आपसमा मर्जरमा जानका लागि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरमा सम्झौता गरेका थिए । त्यसपश्चात नेप्सेले गत असार २ गतेदेखि दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो । दुई बैंकका सेयरधनीले साढे ५ महिनापछि कम्पनीको शेयर कारोबार गर्न सक्ने भएका हुन् । ग्लोबल आइएमई बैंकको अन्तिम कारोबार मूल्य २४४ रुपैयाँ ८ पैसा बिओकेको २१४ रुपैयाँ २५ पैसा रहेको थियो । बुधवार पनि सोही मूल्यलाई आधारमा कारोबार खुला हुनेछ ।

यस्तै, नेप्सेले भोलिदेखि नै कारोबार आउने गरि नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर कारोबार फुकुवा गरेको छ । नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिने सम्झौता गरेका थिए । त्यसपश्चातर दुवै कम्पनीको असोज २७ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो । तर, नेशनल माइक्रोफाइन्सको फुकुवा भएपनि समीट लघुवित्तको सेयर कारोबार भने अझै रोक्का नै रहेको छ । नेशनल माइक्राफाइनान्सको अन्तिम कारोबार मूल्य २ हजार रुपैयाँ रहेको छ । बुधवार सोही मूल्यलाई आधार बनाई कारोबार खुला हुनेछ ।

त्यसैगरि मंगलबार नाडेप लघुवित्तको पनि सेयर कारोबार फुकुवा भएको छ । डिप्रोक्स लघुवित्तसंग मर्जर सम्झौता गरेको कम्पनीको भोलिदेखि सेयर कारोबार गर्न सकिने भएको हो । यी दुवै कम्पनीले एक आपसमा गाभिन मर्जर सम्झौता गरेपछि २०७७ पुस १७ गते देखि नाडेपको सेयर कारोबार रोक्का भएको थियो । बुधवारदेखि कम्पनीको सेयर प्रतिकित्ता ८६५ रुपैयाँ ८३ पैसामा खुला हुनेछ। कम्पनीको कारोबार रोक्का हुँदा अन्तिम कारोबार मूल्य पनि आधारमा खुला हुने भएको हो ।


प्रतिक्रिया दिनुहोस्