धितोपत्र बजार पूँजीकरण ३१०३ अर्ब १६ करोड कायम, ९४ अर्बको थप धितोपत्र सूचीकृत « Arthapath.com
२३ माघ २०७९, सोमबार

धितोपत्र बजार पूँजीकरण ३१०३ अर्ब १६ करोड कायम, ९४ अर्बको थप धितोपत्र सूचीकृत



काठमाडौं । २०७९ पुस मसान्तमा धितोपत्र बजार पूँजीकरण रु.३१०३ अर्ब १६ करोड कायम भएको छ । २०७८ पुस मसान्तमा बजार पुँजीकरण रु.४०३७ अर्ब १३ करोड रहेको थियो । २०७८ पुस मसान्तमा २८५७.८ रहेको नेप्से सूचकाङ्क २०७९ पुस मसान्तमा २१४९.४ कायम भएको छ ।

२०७९ पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २२५ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १२.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ पुस मसान्तमा सूचीकृत ७ अर्ब १० करोड शेयरको चुक्ता मूल्य रु.७०० अर्ब २ करोड रहेको छ । आर्थिक वर्ष २०७९÷८० को छ महिनामा रु.३५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२८ अर्ब ४४ करोड बराबरको डिबेन्चर, रु.११ अर्ब ८० करोड बराबरको साधारण शेयर, रु.१० अर्ब ८० करोड बराबरको बोनस शेयर, रु.४ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु.३ अर्ब ६७ करोड बराबरको हकप्रद शेयरगरी कुल रु.९४ अर्ब २१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.९ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.७ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड, रु.४ अर्ब ९ करोड बराबरको साधारण शेयर र रु.९५ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.२१ अर्ब ९९ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्