एक साता पछि बल्ल आयो बजारमा सुधार, कारोबार रकममा भने छैन सुधार
काठमाडौं । अघिल्लो साताको बुधबारदेखि निरन्तर ओरालो लागेको बजार यो साताको अन्तिम कारोबारको दिन भने सुधार आएको छ । केहि दिन यता बजार निरन्तर खुम्चिएर कारोबार रकम समेत सुस्ताइ रहेको बेला आज भने सुधार आएको छ ।
अहिले अर्थमन्त्रालय बजेट निर्माणमा लागि रहेकोछ । सोहि क्रममा अहिले अर्थमन्त्रालयले सेयर बजारका लागि लागनीकर्ताका माग, सुझाव र राय मागि रहेको छ । लगानीकर्ताका माग सम्बोधन गर्ने अर्थमन्त्री प्रकाससरण महतले सकरात्मक रहेको प्रतिक्रिया दिएको बेला लगानीकर्ता हौसिएका छन् ।
यता, नयाँ एक्सचेञ्ज आउने कुराले पनि लगानीकर्ता हौसिएका हुन । नयाँ स्टक आए पश्चात बजार प्रतिपस्र्धा हुने आशाले लगानीकर्तामा खुसी छाएको हो । सरकार पक्षका प्रतिनिधिहरुले अर्थतन्त्र सहि बाटोमा हिनेको, बैंकको ब्याजदर अझै घटाउन सक्ने, बजेट निर्माणमा पूँजी बजारलाई प्राथमिकता दिने र लगानी योग्य वातारण निर्माणमा सरकार तत्वर रहेको भन्ने तर्कले पनि लगानीकर्ता आशावादी बनेका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.७३ अकंले बढेर १८६९.७३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोड २६ लाख ८९ हजार ८११ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार दोहोरो अकंले बजार उकालो लागेसँगै १३ वटै उपसूचक हरियाली भएका छन् । आज बैंकिङ समूहको ०.३४ प्रतिशत, विकास बैंक समूहको ०.६६ प्रतिशत, फाइनान्स समूहको १.३२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.७७ प्रतिशत र हाइड्रोपावर समूहको १.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज नबिल बैंकको प्रमोटर सेयर ४ करोड ५० लाख रुपैयाँ, शिवम सिमेन्टको २ करोड २१ लाख रुपैयाँ र नबिल बैंकको १ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।
















