बजार लगातार तेस्रो दिन समेत सुधार, कारोबार भने खुम्चियो, अबको बाटो कता ?
काठमाडौँ । लगातार तेस्रो दिन समेत सेयर बजारमा सुधार आएको छ । तिहार नजिकिदैं गर्दा बजारमा उत्साह आएको हो । बजार निरन्तर ओरालो लाग्दा दिक्क भएका लगानीकर्ता केहि हदमा भए पनि खुसी भएका छन् ।
बिस्तारै लगानीकर्ता मनोबल बलियो हुँदै गइरहेको छ । आइपीओ निष्कासनमा लेखा समितिले दिएको निर्देशनपछि लगानीकर्ता मनोबल वृद्धि भइरहेको छ । अब म्युचुअल फन्डले सेयर बाँडफाँड भएको ६ महिनासम्म आरक्षणको आइपिओ बेच्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियमन विभागले एक निर्देशन जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । सेबोनले म्युचुअल फन्डलाई आइपिओ बाँडफाँट भएको ६ महिनासम्म बिक्रीमा गर्न नपाउने व्यवस्था गरेको छ । कारोबारको पहिलो दिननै बजारमा सप्लाई दिएर बजार घटाउन थालेपछि बोर्डले म्युचुअल फन्डलाई आरक्षणको सेयर बिक्रीमा ६ महिने लकइन लगाएको हो । यसले बजारलाई सकारात्मक बाटो दिने आशा लगानीकर्ताले राखेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१६ अकंले बढेर १८६३.९३ बिन्दुमा बन्द भएको छ । आज २८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच हुँदा ७८ करोड २७ लाख ४३हजार रुपैयाँको कारोबार भएको छ । हिजो करिब १ अर्ब पुगेको कारोबार आज भने खुम्चिएको हो ।
बुधबार चार उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६४ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.४३ प्रतिशत र निर्जीवन बीमा समूहको ०.२३ प्रतिशतले सेयर मूल्य ओरालो लागेको हो ।
आज सोनापुरको ५ करोड ६१ लाख र हिमालयन बैंकको संस्थापक सेयर ५ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ ।