हिमालयन रि इन्स्योरेन्सको आइपीओमा साढे ४५ करोड रुपैयाँ संकलन, आवेदन कति ?
काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि इन्स्योरेन्स निष्कासन गरेको आइपीओमा २२ हजार ८५५ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १४ गते साँझ ५ः०८ बजेसम्म २२ लाख ८ हजार ६०० कित्ताका लागि आवेदन परेको हो । जस मार्फत ४५ करोड ४८ लाख ६० हजार ३६० रुपैयाँ संकलन भएको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।
सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।