मौद्रिक नीतिले उचाल्यो सेयर बजार, रहला त कायम ?
काठमाडौँ । बजारमा आज उछाल आएको छ । बजार ६ प्रतिशतले बढेपछि आजका लागि सेयर कारोबार स्थगित भएको छ ।
नेप्सेमा लगातार तेस्रो सर्किट लाग्दै बजार ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको हो । अब बजार सोमबार बिहान ११ बजेमात्र खुल्नेछ । नेप्से पहिलो १ घण्टामा ४ प्रतिशत बढे २० मिनेट, २ घण्टामा ५ प्रतिशत बढे ४० मिनेट र बजार ६ प्रतिशतले बढे दिनभरिको लागि कारोबार बन्द हुन्छ । बजार आज ९ मिनेट मात्र खुलेको हो ।
शुक्रबार केन्द्रिय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो । उक्त समिक्षामा राष्ट्र बैंकले लगानीकर्ताको मनोबल उच्च बनाउने पाटो तयार गरेको जानकारहरुले बताउदै आएका थिए । सोहि कारण आज लगानीकर्ताले मौद्रिक नीतिलाई स्वागत गरेका छन् ।
केन्द्रिय बैंकले सेयर बजार र घरजग्गा कारोबारलाई गतिशील बनाउने गरी मौद्रिक नीतिमा संशोधन गरेको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै ‘बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु. ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार’ १२५ प्रतिशतमा झारेको हो । यसअघि यस्तो जोखिम भार १५० प्रतिशत थियो । यो सालको मौद्रिक नीतिले साना आकारका सेयर कर्जा र घरजग्गा कर्जाको जोखिमभार घटाए पनि त्यसले बजारमा तात्विक असर पारेको थिएन । ठूला ऋणीका लागि कर्जा महँगो पर्ने भए पछि उनीहरुले राष्ट्र बैंकको आलोचना गरिरहेका थिए ।
यसको असर सेयरको दोस्रो बजार पनि उकालो लाग्न सकेन भने घरजग्गा कारोबार पनि अपेक्षाकृत रुपमा बढ्न सकेको थिए । व्यवसायीहरुले यस जोखिम भारलाई शतप्रतिशतमा झार्न माग गरिरहेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि ब्यापारीहरुसँगको छलफलपछि जोखिम भार अनुपातलाई १०० प्रतिशत वा त्यसको नजिक झार्न राष्ट्र बैंकलाई अनुरोध गरेका थिए ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १११.२० अकंले बढेर १९६३.९८ बिन्दुमा पुगेको हो । ९ मिनेट मात्र खुलेको बजारमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर किनबेच हुदाँ ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ५.६८ प्रतिशत, विकास बैंक समूहको ६.५९ प्रतिशत, फाइनान्स समूहको ६.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ६.७२ प्रतिशत, हाइड्रोपावर समूहको ८.६३ प्रतिशतसहित १३ उपसूचकमा सुधार देखिएको हो ।
आज माउन्टेन इनर्जीको ३ करोड ५८ लाख २५ हजार रुपैयाँ, सोनापुरको ३ करोड ५८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको २ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।
साताको पहिलो कारोबारको दिन मै १३ उपसूचकमा सकारात्मक सर्किट लागेको छ ।