नेप्से २७.७५ अकंले बढ्यो, कारोबार ५ अर्ब माथि, अबको यात्रा कस्तो ?
काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अकंले बढेको छ । गत साताको अन्तिम कारोबारको दिन झिनो सुधार भएर बन्द भएको बजार आज पनि सुधार आएको हो ।
आज नेप्सेमा उच्च उतारचढाव भएको छ । सरकारले लगाएको भूतप्रभावी करको दबाव बजारमा पर्दा उच्च उतारचढाव भएको हो । आर्थिक ऐन २०८० बमोजिम केही सूचीकृत कम्पनीहरुले मर्जर र एफपीओको कर सम्बन्धी मुद्दा हारेपछि बजारमा त्यसको दबाव परेको हो ।
आज बिक्री गर्नेहरु हाबि भएको देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै सेयरबजारमा सकारात्मक प्रभाव परेको थियो । तर लगानीकर्ताहरुले भूतप्रभावी करले असर आंकलन गरेका थिए । सोहि कारण पनि आज बिक्री गर्नेहरु हाबि भएको देखिन्छ । अन्तिममा आएर बजारमा सुधार देखिएको हो ।
नेप्से आज २७.७५ अकंले बढेर २०२२.३५ बिन्दुमा बन्द भएको हो । आइतबार २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार १० उपसूचकमा हरियाली आउँदा ३ उपसूचक भने राताम्य भएका छन् । आव बैंकिङ समूहको ०.६७ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४२ प्रतिशत र ब्यापार समूहको ०.२३ प्रतिशतले सेयर मूल्य घटेको हो ।
आइतबार हिमाल दोलखा हाइड्रोपावरको २५ करोड १२ लाख रुपैयाँ, सोनापुरको १६ करोड ६५लाख रुपैयाँ र रिलायबल नेपाल लाइफको १६ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।