बीमा प्राधिकरणको लगानीमा लचिलो नीतिले सेयर बजारमा उत्साह, जीवन बीमामा देखियो आकर्षण « Arthapath.com
२३ पुष २०८०, सोमबार

बीमा प्राधिकरणको लगानीमा लचिलो नीतिले सेयर बजारमा उत्साह, जीवन बीमामा देखियो आकर्षण



काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकलाई सेयर बजारमा लगानी बढाउने नीति अघि सारेको छ । त्यसको प्रभाव सेयर बजारमा देखिएको छ ।

नियामकले बीमा कम्पनीहरुलाई प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने व्यवस्था गरेको हो । यसअघि बीमा कम्पनीहरूलाई बैङ्कको मुद्दती निक्षेप, साधारण सेयर, घरजग्गा, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्न बाटो खुला गरिएको थियो ।

यस्तै, अब बीमा कम्पनीहरूले अब कुनै पब्लिक कम्पनीमा १५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । यसअघि कम्पनीहरुले चुक्ता पुँजीको ५ प्रतिशत मात्रै सेयर बजारमा लगानी गर्न पाउने व्यवस्था थियो । उक्त नीतिलाई संशोधन गरि प्राधिकरण १० प्रतिशतले बढाएको छ ।

उक्त नीतिले अब सेयर बजारलाई पनि सकरात्मक रुपमा चलायमान बनाउने विज्ञहरुको भनाई छ । प्राधिकरणको नीतिगत सुधारले सोमबार सेयर बजार पनि सकरात्मक बनेको उनीहरुको तर्क छ । एक लगानीकर्ताले भने, ‘बीमा कम्पनीहरुले सेयर बजारमा लगानी गर्न पाउने बीमा बढाउनु सकरात्मक छ । आजको बजार वृद्धिको कारण प्राधिकरणका लचिलो लगानी नीति पनि हो।’

सोमबार सेयर बजार ३६.५७ अंकले वृद्धि भएको छ । सो दिन बजार परिसूचक २०५९.४९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार सबैभन्दा धेरै जीवन बीमामा आकर्षण देखिएको छ । उक्त दिन जीवन बीमा समूह ३.७२ प्रतिशतले वृद्धि भएको छ । ३९२.०९ अंकले बढेपछि जीवन बीमा कम्पनीहरुका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यता, निर्जीवन बीमा समूह पनि १.४२ प्रतिशत (१५५.९३ अंक) ले वृद्धि भएको छ ।

सोमबार जीवन र निर्जीवन बीमासहित १२ उपसूचकमा हरियाली आएको छ । उक्त दिन बैंकिङ समूह ०.५९ प्रतिशत, विकास बैंक समूह २.२८ प्रतिशत, फाइनान्स २.५६ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६० प्रतिशतले वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्