के शिवराज श्रेष्ठलाई सेबोनको अध्यक्ष बनाइँदै छ ? « Arthapath.com
७ माघ २०८०, आईतवार

के शिवराज श्रेष्ठलाई सेबोनको अध्यक्ष बनाइँदै छ ?



काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष नियुक्तिका लागि प्रक्रिया सुरु गरेसँगै एकाएक एउटा नाम चर्चामा आउन थालेको छ, शिवराज श्रेष्ठ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट बाहिरिएका उनी अहिले धितोपत्र बोर्डको अध्यक्ष बन्ने तरखरमा रहेको चर्चा भित्रभित्रै फैलिँन थालेको छ ।

२०४६ सालमा सहायक निर्देशकबाट राष्ट्र बैंक सेवामा प्रवेश गरेका श्रेष्ठ २०५३ मा उपनिर्देशक, २०५५ मा निर्देशक, २०६९ मा कार्यकारी निर्देशक र २०७२ फागुनमा चिन्तामणी सिवाकोटीसँगै डेपुटी गभर्नर नियुक्त भएका थिए । सिवाकोटी अहिले राष्ट्र बैंककै सञ्चालक छन् । श्रेष्ठ भने अहिले सार्वजनिक पदमा छैनन् । नेपालमै लेखामा एमबीए, अर्थशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले भारतको नेशनल इन्स्टिच्युट अफ बैंकिङ र लण्डनको स्कूल अफ फाइनान्स एण्ड म्यानेजमेण्टबाट पनि एमबीए गरेका छन् ।

समितिको बैधतामा प्रश्न

सेबोनमा रमेशकुमार हमालको कार्यकाल सकिएपछि नयाँ अध्यक्षको खोजि सुरु भएको छ । हमालको कार्यकाल पुस २० मा सकिएको थियो । त्यसको १२ दिनपछि सरकारले नयाँ अध्यक्ष छान्ने प्रक्रिया सुरु गरेको हो । गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को व्यवस्था ।

समिति सदस्यमा अर्थसचिव डा. कृष्णहरि पुष्कर र विज्ञ सल्लाहकारका रुपमा शंकरदेव क्याम्पसमा फाइनान्सका प्राध्यापक उदय निरौला छन् । कतिपयले निरौलालाई ‘धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ’ नभएको भनेर उक्त समितिको बैधानिकतामा प्रश्न उठाउन थालेका छन् ।

यसअघि हमाललाई नियुक्त गर्दा राष्ट्रिय योजना आयोगको अध्यक्ष डा. विश्वनाथ पौडेल संयोजकत्वको समितिमा अर्थसचिव मधु मरासिनी र विशेषज्ञ सदस्यमा जिवनाथ धिताल नियुक्त गरिएको थियो । धितालले त्यसअघि नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सञ्चालक समिति अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका थिए ।

त्योभन्दा पहिले भीष्मराज ढुंगानालाई नियुक्त गर्ने बेलामा पनि २०७६ चैतमा योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा समिति गठन भएको थियो । समिति सदस्यमा अर्थसचिव शिशिर ढुंगाना र नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्था (आइक्यान)का अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य थिए । आइक्यानको उपाध्यक्ष सेबोनको सञ्चालक समितिमा पदेन सदस्य हुने प्रावधानका कारण आचार्यले पनि एक कार्यकाल संचालक समितिमा बसिसकेका थिए ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा पदाधिकारीको कार्य विभाजन ।

गभर्नर र अध्यक्षको भागवण्डा !

स्रोतका अनुसार वित्तीय क्षेत्रका दुई नियामक निकायको नेतृत्वलाई राजनीतिक तहमा भागवण्डा गर्ने कोसिस अघि बढेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेसले आफ्नो छनोटमा बनाउने भनेर अहिले सेबोन अध्यक्षका लागि माओवादीलाई छनोट गर्ने सुविधा दिन लागिएको छ ।

२०७६ चैत २४ मा गभर्नर भएका महाप्रसाद अधिकारीको कार्यकाल २०८१ चैत २३ मा सकिँदै छ । यसबीच पनि उनलाई हटाउन विभिन्न तवरले प्रयास भएका छन् । अहिले पनि उनको नियुक्ति विरुद्ध परेको उजुरी सर्वोच्च अदालतमा विचाराधिन छ । अदालतले उनको विरुद्ध कुनै फैसला दिएन भने पनि १४ महिनापछि अधिकारी स्वतः बिदा हुने छन् । त्यसपछि गभर्नरमा कांग्रेसले आफ्नो ‘भाग’ सुरक्षित गर्न चाहेको छ ।

यही कारण अहिले सरकारको नेतृत्व गरिरहेको दल माओवादीलाई सेबोनको अध्यक्ष दिने अनौपचारिक समझदारी बनेको स्रोतको दाबी छ । सोही कारण शिवराज पुनः एक पटक सार्वजनिक पदका लागि मैदानमा उत्रिएका छन् । उनीसँगै नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट र यसअघि तत्कालिन बीमा समितिको अध्यक्ष रहेका चिरञ्जीवी चापागाईँको नाम पनि चर्चामा आएको छ ।

धितोपत्र बजारकै विषयमा विद्यावारिधि गरेका भट्ट यसअघि पनि सेबोन अध्यक्ष बन्ने दौडमा थिए । चापागाईँ पनि शक्तिकेन्द्रको बलियो पृष्ठपोषणमा बीमा समितिको नेतृत्वमा पुगेका व्यक्ति हुन् । सत्तासिन माओबादीमात्रै होइन, प्रधानमन्त्रीसँग निकट सम्बन्ध राख्ने केही ठूला व्यावसायिक घरानामा पनि उनको राम्रै पहूँच छ । विगतमा बीमा समिति जानेबित्तिकै ठूला बीमा कम्पनीहरुको लाइसेन्स वितरण गरेर उनले धेरैलाई गुन लगाएका छन् ।

तर अहिले राजनीतिमा ‘मेसो मिलाउन’ श्रेष्ठ अगाडी देखिएका छन् । उनले केही समयअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बैंकरहरुसँग छलफलमा राख्ने व्यवस्था मिलाउन मुख्य समन्वयकारीको भूमिका निर्वाह गरेको स्रोतको दाबी छ । केपी ओली सरकारकै पालामा राष्ट्र बैंकको डेपुटी गभर्नरबाट निलम्बन गरिएका श्रेष्ठलाई पछि उही सरकारले पुनःबहाली दिएका थियो ।

एमाले अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यसँग राम्रो सम्बन्ध भएका कारण यो सम्भव भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । कांग्रेस नेता प्रकाशमान सिंहसँग पनि उनको अत्यन्त निकट सम्बन्ध रहेको बताइन्छ । यसरी झट्ट हेर्दा ‘साझा उमेदवार’ जस्तो देखाएर माओबादीले उनलाई अघि सार्न लागेको समाचार सूत्रहरुले दाबी गरेका छन् ।

अध्यक्ष बन्ने प्रतिस्पर्धामा सेबोनकै कार्यकारी निर्देशकहरु डा. नवराज अधिकारी र कृष्णराज पोखरेल पनि छन् । उनीहरु दुबै जनाले अर्थमन्त्रालयमा यसअघि नै आफूलाई निमित्त अध्यक्षको जिम्मेवारी दिनुपर्ने माग गर्दै निवेदन दिइसकेका छन् । तर नियामक निकायको अध्यक्ष छान्ने ‘खेल’मा उनीहरुमात्र होइन, सेबोनका चारै जना कार्यकारी निर्देशक निकै पछाडी रहेको देखिन्छ ।

अध्यक्षको योग्यता

धितोपत्र सम्बन्धि ऐनले सेबोन अध्यक्ष बन्ने व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने उल्लेख गरेको छ । बोर्ड लगायत सार्वजनिक निकायको कुनै ठेक्कापट्टामा सक्रीय नरहेको, धितोपत्र तथा वस्तु विनिमय बजारमा आफू र आफ्नो परिवारको कुनै सदस्य संलइन नभएको र बजारसँग आफ्नो निजी स्वार्थ नभएको भनेर उमेदवारले स्वघोषणा एवं पुष्टि गर्नु पर्ने छ ।

मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर हासिल गरेको व्यक्ति अध्यक्षको उमेदवार बन्न सक्छ । तर उसँग धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तिमा ७ वर्ष काम गरेको अनुभव हुनुपर्छ ।

उमेर हद अनुसार ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्विक वस्तु तथा संरक्षित वन्यजन्तु सम्बन्धी कसुर वा नैतिक पतन देखिने गरी कुनै पनि फौजदारी कसुरमा सजायँ नपाएको व्यक्ति हुनुपर्ने ऐनले व्यवस्था गरेको छ । यसबाहेक विदेशी स्थायी आवासीय अनुमति (पीआर) पाएका व्यक्तिलाई समेत अध्यक्ष बन्न अयोग्य ठहर गरिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्