नयाँ सत्ता समीकरणले आकासिएको सेयर बजारमा एकाएक किन लाग्यो ब्रेक ? « Arthapath.com
२२ फाल्गुन २०८०, मंगलवार

नयाँ सत्ता समीकरणले आकासिएको सेयर बजारमा एकाएक किन लाग्यो ब्रेक ?



काठमाडौं । नयाँ सत्ता समीकरणसँगै सोमबार आकासिएको सेयर बजार आज भने राताम्मे बनेको छ । सोमबार अस्वभाविक बढेको बजार आज भने उच्च अंकले घटेको हो ।

नयाँ गठनबन्धनसहितको सरकार बन्ने र नयाँ अर्थमन्त्रीको हल्लाका कारण बजारमा उछाल आएको थियो । लगातार तीन पटकसम्म सर्किट ब्रेकर लागेपछि सोमबार कारोबार नै बन्द भएको थियो । सोमबार ११७.७० अंकले बढेको थियो ।

सोमबार ६ प्रतिशतले बढेको बजारमा ३७ करोड ५२ लाख ९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार ९१९ कित्ता सेयर किनबेच भएको थियो ।

बजार परिसूचक पनि २०७८ अंकको बिन्दुमा पुगेको थियो । तर, मंगलबार भने पुरै करेक्सन भएको छ । यद्यपि, यो स्वभाविक पनि मानिन्छ ।उक्त दिन बजार ७०.३१ अंकले घटेर २ हजार ७ दशमलव ६९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज म्युचुअल फन्ड झिनो (०.११ अंक) वृद्धि भएको छ । त्यस बाहेकका सबै समूहरु राताम्मे बनेका छन् । मंगलबार प्रि–ओपन सेसनमा पनि नेप्से परिसूचक १७ अंकले बढेको थियो । तर, ११ बजेपछि खुलेको नियमित कारोबारमा भने सुरुवातबाट नै बजार घट्न सुरु गरेको हो । आज ४ अर्ब ११ करोड ३७ लाख ७६ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर किनबेच भएको छ ।

विशेष गरि नयाँ अर्थमन्त्रीमा को आउँछ भन्ने विषयले पनि लगानीर्ता अन्योलमा छन् । यति बेला अर्थमन्त्रीमा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र नेकपा एमालेको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलको चर्चा छ । अर्थमन्त्रीमा विष्णु पौडेलले हुने हल्लाले नै सोमबार बजारमा उछाल आएको अनुमान छ । तर, अर्थमन्त्रीमा वर्षमान पुनलाई अगाडि बढाउने माओवादीको अडान रहेको हल्ला बाहिरिएको छ । तर, पटक पटकको बैठक र छलफल गर्दा पनि नयाँ अर्थमन्त्रीको टुंगो लागेको छैन ।

पौडेललाई बजारमैत्री अर्थमन्त्रीको रुपमा पनि हेरिन्छ । यसअघि पनि पौडेले अर्थमन्त्री हुँदा बजारको प्रदर्शन राम्रो रहेको थियो । लगानीकर्ताहरु पनि उत्साहित बनेको थिए ।

सेयर बजारमा दीर्घकालीन सुधारका लागि भने सरकारले लिने नीति, वृहत अर्थतन्त्र, ब्याजदर तथा तरलता लगायत विविध पक्षहरुको झन् ठूलो भूमिका हुने गर्दछ । सेयर बजारमा दीर्घकालीन सुधारका लागि भने सरकारले लिने नीति, वृहत अर्थतन्त्र, ब्याजदर तथा तरलतालगायत विविध पक्षहरुको झन् ठूलो भूमिका हुने गर्दछ ।

नयाँ सरकार र नयाँ अर्थमन्त्रीको काम कारवाही पनि बजारमैत्री हुने लगानीर्ताहरुको अपेक्षा छ । लगानीकर्ताको मनोविज्ञानमा पनि सकरात्मक प्रभाव पर्ने र बजारले सहि दिशा लिने विश्वास लिइएको छ ।

मंगलबार सोनापुर मिनिरल्स् एण्ड आयलको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ४१ करोड ९१ लाख २२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिवम् सिमेन्टको पनि २४ करोड ६५ लाख ४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै, उक्त दिन घोराही सिमेन्टको १४ करोड ३१ लाख ७० हजार, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १३ करोड १९ लाख र हिमालयन रिइन्स्योरेन्सको १२ करोड ८१ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्