२७०० अंकभन्दा माथि टिक्न सकेन बजार, ७ अर्ब नाघ्यो कारोबार « Arthapath.com
२१ आश्विन २०८१, सोमबार

२७०० अंकभन्दा माथि टिक्न सकेन बजार, ७ अर्ब नाघ्यो कारोबार



काठमाडौँ । दशैँको मुखमा सेयर बजार उकालो लग्ने क्रममा देखिएको छ । गत साताको आइतबार ‘इन्ट्रा–डे’ ब्यापारमा २४४२ अंकसम्म झरेको नेप्से त्यसपछि बढ्दो क्रममा फर्किएको छ । सोमबारको ब्यापारमा २७०७ अंकसम्म पुगेर पुनः २७०० को मनोवैज्ञानिक स्तरभन्दा तल आएर बजार बन्द भएको छ ।

गत भदौ २ को ‘इन्ट्रा–डे’ कारोबारमा ३ हजार ४८ अंकसम्म पुगेको नेप्से त्यसयता ओरालो यात्रामा थियो । यसबीचमा बन्द मूल्यका आधारमा नेप्से करीब १८ प्रतिशत र ‘इन्ट्रा–डे’ ब्यापारको आधारमा करीब २० प्रतिशत घटेपछि नेप्सेले बाटो मोडेको हो ।

सोमबार नेप्से परिसूचक ३७.१३ अंक अर्थात् १.३९ प्रतिशत बढेर २६९०.७२ अंकमा पुगेको छ । यस दिन कारोबारमा आएकामध्ये १६२ कम्पनीको सेयर मूल्य बढ्यो भने ७३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ९ कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।

थ्रिस्टार हाइड्रो र डोल्टी पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतको नजिक पुगेर उक्लिएको छ । चन्द्रागिरि हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, गुडविल फाइनान्स लगायत कम्पनीको सेयर सर्वाधिक कारोबार भएका छन् ।

सोमबार बजार बन्द हुँदासम्म नेप्से पछिल्लो टेवा बिन्दुबाट करीब ९ प्रतिशत बढिसकेको छ । भदौ २ गतेको उच्चतम विन्दुबाट सोमबारको अन्तिम बिन्दुलाई हेर्दा नेप्से अहिले पनि १० प्रतिशतभन्दा बढी ‘घाटा’ मै देखिएको छ । इन्ट्रा–डे ब्यापारको उच्च–निच विन्दुलाई गणना गर्ने हो भने त यो सोमबारको अन्तिम बिन्दुमा आउँदा पनि नेप्से करीब १२ प्रतिशत तल नै रहेको देखिएको छ ।

सोमबार नेप्सेमा ७ अर्ब ९ करोड ५९ लाखभन्दा धेरैको कारोबार भएको छ । असोज लागेयता नेप्सेको कारोबार रकम दोस्रो पल्ट ७ अर्ब नाघेको हो । यसअघि १५ असोजमा पनि कारोबारको आँकडाले ७ अर्ब पार गरेको थियो ।

तीन घण्टामा कुल ७३ हजार ११९ पल्ट ब्यापार हुँदा ३०५ वटा स्क्रिप्ट (कम्पनीका सेयर तथा सामुहिक लगानी एकाई)हरु किनबेच भए । यस दिन नेप्सेको कुल बजार पूँजीकरण ४२ खर्ब ७८ अर्ब ५० करोड ६९ लाख नाघेको छ ।


प्रतिक्रिया दिनुहोस्