बैंकबाट मोटो आकारको ऋण लिएर सेयर बजारमा ठुला लगानीकर्ताको प्रवेश, बैंकहरुले लगानी थपेको थप्यै

काठमाडौं । मार्जिक प्रकृतिको कर्जा (सेयर धितो कर्जा) प्रवाह व्यापाक बढेको छ । बैंकबाट ऋण लिएर सेयर किन्ने लगानीकर्ता बढेको देखिन्छ । एक वर्षकै अवधिमा यस्तो कर्जा झन्डै ३३ प्रतिशत वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच (साउनदेखि मंसिर) महिनामा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ३२.९५ प्रतिशत बढी हो । गत आवको मंसिर मसान्तसम्ममा भने बैंक तथा वित्तीय संस्थाले ८१ अर्ब १९ करोड ४ लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेका थिए ।
विशेष गरि ठुलो आकारको कर्जा लिएर सेयर बजारमा लगानी गरेको देखिन्छ । राष्ट्र बैंकका अनुसार १ करोड भन्दा माथिको सेयर धितो कर्जा ह्वात्तै बढेको छ । यस्तो कर्जा एकै वर्ष ४८.७८ प्रतिशत बढेको छ । गत वर्षको मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले यस्तो सीमाको कर्जा ४७ अर्ब ८४ करोड ५४ लाख रुपैयाँ प्रवाह गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बढेर ७१ अर्ब १८ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा पनि १६.७७ प्रतिशत वृद्धि भई १३ अर्ब ८३ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आवको समिक्षा अवधिमा भने यस्तो सीमाको कर्जा ११ अर्ब ८४ करोड ५१ लाख रुपैयाँ रहेको थियो । यता, २५ लाखदेखि १० लाखसम्मको सेयर धितो कर्जा पनि ९.०६ प्रतिशत बढेर १५ अर्ब २७ करोड ९८ लाख र २५ लाख भन्दा कम सीमाको कर्जा प्रवाह २.१३ प्रतिशत वृद्धि भई ७ अर्ब ६४ करोड ९० लाख रुपैयाँ कायम भएको छ ।
केन्द्रिय बैंकले लिएको लचिलो नीतिका कारण ठुला आकारको कर्जा प्रवाह बढेको बताइन्छ। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत केही नीतिलाई खुकुलो बनाएको छ । त्यसकै प्रभावले सेयर धितो कर्जामा बढोत्तरी देखिएको हो ।
मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको छ भने सेयर धितोको जोखिम भार घटाएको छ । यसले लगानीकर्तालाई कर्जा लिन र लगानी बढाउन थप टेवा पुगेको छ ।
वाणिज्य बैंकले मात्रै दिए झन्डै साढे ८६ अर्ब ऋण, कसले कति ?
सेयर खरिदका लागि वाणिज्य बैंकले मात्रै ८६ अर्ब ३३ करोड रुपैयाँ कर्जा दिएका छन् । यो गत आवको मंसिरको तुलनामा भने ३५.५७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले ६३ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
समिक्षा अवधिमा ३ वटा बैंकले भने सेयर कर्जा घटाएका छन् । एनआइसी एशिया, हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले भने यस्तो कर्जा क्रमशः ४२.२५ प्रतिशत, २५.९७ प्रतिशत र १.३७ प्रतिशत घटाएका छन् ।
ती बाहेकका अन्य सबै बैंकहरुले भने बढाएका छन् । सेयर किन्नका लागि सबैभन्दा धेरै ऋण नबिल बैंकले दिएको छ । बैंकले पाँच महिनामै ११ अर्ब ३९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो गत आवको तुलनामा २.७८ प्रतिशत बढी हो । दोस्रो सूचीमा रहेको ग्लोबल आइएमई बैंकले पनि ७७.८६ प्रतिशत बढाएर ११ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
सेयर कर्जा बढाउन भने नेपाल एसबिआई, माछापुच्छ्रे, सिद्धार्थ, सानिमा, कुमारी, एभरेष्ट बैंक शीर्ष सूचीमा देखिएका छन् । गत आवको तुलनामा यी बैंकहरुको यस्तो कर्जा वृद्धि क्रमशः १८९०.७२ प्रतिशत,१०३.२९ प्रतिशत, ९१.४३ प्रतिशत, ८५.६० प्रतिशत, ८५.४१ प्रतिशत, ८५.१६ प्रतिशत रहेको छ ।