राजनीतिक स्थिरता पर्खिरहेको सेयर बजार: निर्वाचन अघि देखिएकाे सुखद संकेतले निरन्तरता पाउला ?
काठमाडौं । फागुन १९ गते मंगलबार खुलेको शेयर बजार अब पाँच दिनपछि अर्थात् आगामी सोमबार मात्र खुल्ने भएको छ। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले फागुन २० देखि २४ गतेसम्म सार्वजनिक बिदा दिएकाले शेयर कारोबार पनि फागुन २५ गते सोमबार मात्र सुचारु हुने भएको हो।
निर्वाचनको सरगर्मीका बीच यो साता शेयर बजार केवल दुई दिन मात्र खुलेको छ। निर्वाचन अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ। पछिल्ला पाँच कारोबार दिनदेखि लगातार बढिरहेको नेप्सेले मंगलबार पनि सोही लयलाई कायम राख्दै सुखद अन्त्य गरेको हो।
निर्वाचन अघिको अन्तिम कारोबार दिन अर्थात् मंगलबार नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको छ। यस वृद्धिले लगानीकर्ताहरूमा निर्वाचनपछिको बजारप्रति ठूलो भरोसा रहेको संकेत गरेको छ।
निर्वाचन अघि उच्च अंकले बढेको बजार अब निर्वाचनपछि कस्तो होला भन्ने चासो सर्वत्र छ। लगानीकर्ताहरू निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्ने र त्यसले अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउनेमा ढुक्क देखिन्छन्। यदि साँच्चै राजनीतिक स्थायित्व कायम हुने हो भने बजारले नयाँ उचाइ लिनेमा कुनै शंका छैन।
हाल बजारले नीतिगत सुधार भन्दा पनि राजनीतिक स्थिरता खोजिरहेको देखिन्छ। नीतिगत तहमा सुधारहरू भए तापनि राजनीतिक अस्थिरताकै कारण बजारले अपेक्षित गति लिन सकेको थिएन। मंगलबारको शेयर बढाइले मुलुक अब नयाँ युगमा प्रवेश गर्दैछ भन्ने बलियो संकेत दिएको छ। निर्वाचन नजिकिँदै जाँदा देखिएको यो उत्साहले आगामी दिनमा बजार झन् मजबुत हुने अपेक्षा गरिएको छ।














