अब डिम्याट खाता खाेल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, नवीकरण गर्न पनि नपाइने
काठमाडाैं । धितोपत्र बजारको केन्द्रीय निक्षेप प्रणाली, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले डिम्याट (हितग्राही) खाता सञ्चालनका लागि नयाँ नियम ल्याएको छ।
आगामी साउन १ गतेदेखि लागू हुने गरी नयाँ खाता खोल्न र पुराना खाताहरू नवीकरण गर्नका लागि राष्ट्रिय परिचयपत्र नम्बरलाई अनिवार्य गरिएको हो।
सिडिएससीले एक सूचना जारी गर्दै नयाँ हितग्राही खाता खोल्दा र हाल कायम रहेका खाताहरूको विवरण अद्यावधिक (नवीकरण) गर्दा राष्ट्रिय परिचय नम्बर समावेश गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ।
यो व्यवस्थासँगै अब सेयर लगानीकर्ताहरूले आफ्नो डिम्याट खाता सञ्चालन वा नवीकरण गर्नुअघि राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराउनुपर्नेछ।
‘यस लि. को मिति २०८३/०२/१३ गतेको निर्णयानुसार मिति २०८३/०३/०१ गतेबाट लागू हुनेगरी नयाँ हितग्राही खाता खोल्दा र हाल कायम रहेका हितग्राही खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचय नम्बरलाई हितग्राहीको विवरणमा समावेश गर्न अनिवार्य गरिएको जानकारी गराइनुका साथै सोही बमोजिम गर्न गराउन हुन निर्देशानुसार अनुरोध छ’ सुचनामा भनिएकाे छ।















