माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट, १ लाख ४२ हजारभन्दा बढीले पाए शेयर « Arthapath.com
१९ असार २०८३, शुक्रबार

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँट, १ लाख ४२ हजारभन्दा बढीले पाए शेयर



काठमाडाैं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको प्राथमिक शेयर (आईपीओ) आज बिहान औपचारिक रूपमा बाँडफाँट भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको एनआईएमबि एस क्यापिटलको आफ्नै कार्यालयमा सो आईपीओ सर्वसाधारण लगानीकर्ताहरूलाई वितरण गरिएको हो।

यसअघि कम्पनीले गत असार ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गर्दै प्रतिकित्ता १०० रुपैयाँ दरका कुल १४ लाख २७ हजार ६०० कित्ता शेयर बिक्री खुल्ला गरेको थियो। जसको कुल पुँजीगत मूल्य १४ करोड २७ लाख ६० हजार रुपैयाँ रहेको थियो।

उक्त निष्काशनमा सर्वसाधारणको उत्साहजनक आकर्षण देखिएको थियो, जहाँ कुल २८ लाख ६२ हजार ९०९ जना आवेदकले ३ करोड ६ लाख ५५ हजार ४३० कित्ताका लागि आवेदन दिएका थिए। ती आवेदनहरूमध्ये २८ लाख १५ हजार ६७९ वटा आवेदन मात्रै योग्य ठहरिएका छन् भने आवश्यक प्रक्रिया र मापदण्ड नपुगेका अन्य आवेदनहरू रद्द भएका छन्।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कोटाभन्दा धेरै गुणा बढी शेयरको माग भएपछि नियमानुसार गोलाप्रथा विधिबाट भाग्यशाली लगानीकर्ता छनोट गरिएको छ। यस प्रक्रिया अनुसार स्वीकृत भएका आवेदकहरूमध्येबाट कुल १ लाख ४२ हजार ७६० जनाले मात्रै जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्