बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउँदै टाइम फर्मास्युटिकल्स, असार १९ गते ‘रोड शो’
काठमाडौं । टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) ल्याउने भएकाे छ। यसका लागि कम्पनीले रोड शो कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका संस्थागत लगानीकर्ताहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको उक्त छलफल कार्यक्रम यही असार १९ गते काठमाडौंको होटल याक एन्ड यतीमा दिउँसो ३ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ।
कार्यक्रमका लागि आवश्यक पर्ने विस्तृत विवरण तथा कागजातहरू टाइम फर्मास्युटिकल्स र यसको धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ, जहाँबाट इच्छुक लगानीकर्ताहरूले सजिलै विवरणहरू हेर्न र प्राप्त गर्न सक्नेछन्।
यसअघि नै कम्पनीले बुक बिल्डिङ प्रक्रियालाई अगाडि बढाउनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन गर्न द्विपक्षीय सम्झौता गरिसकेको छ। सोही प्रक्रिया अन्तर्गत टाइम फर्मास्युटिकल्सले कुल ४ लाख ३४ हजार ६०० कित्ता शेयर सर्वसाधारण तथा लगानीकर्ताहरूका लागि बिक्री खुला गर्न लागेको हो।












