आज गाई तिहार, गौमातासँग गाँसिएका रोचक तथ्यहरु जान्नुहोस्
काठमाडौँ । नेपालको राष्ट्रिय जनावर गाईलाई सनातन धर्ममा माता वा गौमाताको रुपमा पूजिन्छ । हामीलाई पोषण दिन र संरक्षण गर्न गाईको महत्पूर्ण भूमिका छ । हिन्दु धर्मका विभिन्न पुराणहरुमा केही विशिष्ट गाईको वर्णन पाइन्छ ।
कामधेनू सबैभन्दा प्रसिद्ध गाई हो । यो देवताहरुको गाई हो । उनका अगाडी गएर जो कसैले जेसुकै मागे पनि इच्छा पुरा गराइदिने यी गाईको बारेमा महाभारत र भागवत पुराणमा विस्तृतमा चर्चा गरिएको छ । कामधेनूकै छोरी नन्दिनीको चर्चा भने रामाणमा छ । कामधेनूजस्तै इच्छा पूर्ति गराउन सक्षम यी गाईकै कारण एक क्षेत्रीय राजा पछि गएर ब्रह्मऋषि विश्वामित्र बनेको कथन पाइन्छ ।
माता महालक्ष्मी र भगवान धन्वन्तरीजस्तै समुद्र मन्थनबाट प्राप्त १४ रत्नमध्ये एक कामधेनू गाई भएको बताइन्छ । सुरभि नामको अर्को गाईबारे पनि पुराणहरुमा चर्चा पाइन्छ । यो गाईलाई सृष्टिकी आमा भनिन्छ । विष्णुपुराणमा कपिला गाईको पनि चर्चा छ । यो गाई असाधारण पूण्यदायिनी भएको र यसको पालन पोषण गर्ने मान्छेले मोक्ष प्राप्ति गर्ने वर्णन गरिएको छ ।
धेनूः नामको अर्को गाईको पनि पुराणहरुमा वर्णन पाइन्छ । यस गाईले रुद्र (महादेव)को आरधना गरी पुरा सृष्टिको संरक्षण गर्ने सामथ्र्य हासिल गरेको उल्लेख छ । शबलाः नामको अर्को गाईको चर्चा पनि पुराणहरुमा पाइन्छ । ऋषि वशिष्ठसँगको प्रसंगहरुमा यस्ता अद्भूत गाईहरुको चर्चा ज्यादा पाइएको छ ।
हाम्रा पुराणहरुले गाईलाई धार्मिक, आध्यात्मिक र नैतिक दृष्टिमा पनि उँचो स्थान दिएका छन् । देवता, ऋषि, साधक र आम मानिस सबैको जीवनमा सुख, शान्ति, समृद्धि र मोक्ष प्रदान गर्नेवाली पात्रका रुपमा गाईलाई अथ्र्याइएको छ ।
गाई गोठलाई ‘धर्तिका ८ स्वर्गमध्ये एक’ मानिन्छ । गाईलाई अहिंसा र करुणाको प्रतीकका रुपमा लिइन्छ । गौमातालाई मोक्ष प्रदायिनी मानेर नै हिन्दु संस्कारमा जुनसुकै वैदिक वा पैतृक कार्य गर्दा सुरुमा गौदान गर्ने परम्परा छ । गरुड पुराणमा मृत आत्मालाई वैकुण्ठ पुग्न वैतरणी नामको विशाल नदी पार गर्नुपर्ने उल्लेख छ ।
त्यसैले कालगतिले मृत्यु कुरिरहेका व्यक्तिको हातबाट दश–दान र वैतरणी (गौदान) गर्ने चलन छ । यसो गर्नाले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरिन्छ र वैकुण्ठ पुगिन्छ भन्ने मान्यता छ । वैकुण्ठ अर्थात् साक्षत् परमात्मा महाविष्णुको घर पुग्नु भनेको अर्को अर्थमा मोक्ष प्राप्त गर्नु हो ।
ऋग्वेद र अरु वेद तथा सबैजसो पुराणहरुमा गाईका वारे वर्णन पाइन्छन् । गाईको संरक्षण र पूजा गर्नुलाई पुण्य प्राप्तिको सबैभन्दा सजिलो बाटो मानिन्छ । आयुर्वेदमा गाईको गौँत (गौमूत्र), गोबर, दूध, दही र घ्यु सही मात्रामा मिसाएर तयार पारिएको पञ्चगव्यको ज्यादै ठूलो महत्व छ । यज्ञ अनुष्ठानमा पनि यसको प्रयोग हुन्छ ।
गोबरको प्रयोग खेतिपातीमा मलको रुपमा र इन्धनको रुपमा पनि उत्तिकै प्रयोग हुँदै आएको छ । खाद्य पोषणका निम्ति त संसारभर नै गाईको ज्यादै ठूलो महत्व छ ।
संयुक्त राष्ट्र संघ अन्तरगतको विश्व खाद्य कार्यक्रमका अनुसार विश्वमा कुल दूध उत्पादनमध्ये ८१ प्रतिशत गाईबाट उत्पादन हुन्छ । १५ प्रतिशत भैँसीबाट, २ प्रतिशत बाख्राबाट, १ प्रतिशत भेडाबाट र ०.४ प्रतिशत ऊँटबाट दूध उत्पादन हुन्छ । बाँकी दूध घोडा, चौरीजस्ता प्रजातिबाट उत्पादन हुन्छ ।
यसले पनि संसारलाई पोषण दिनमा गाई सक्षम भएको देखाउँछ । नेपाल देश त गाईकै कथासँग जोडिएको छ । यस भूमिलाई हिन्दुहरु गोरखनाथको भूमि पनि भन्छन् । वर्तमान नेपालको एकीकरण हुनुमा गोरखनाथको आशीर्वाद थियो भन्ने कथन छ । उनै गोरखनाथ स्वयम् गाईबाट जन्मिएका मान्छे हुन् भनिन्छ ।
नेपालको इतिहासमा सबैभन्दा पहिले यो स्थान गोपाल अर्थात् गाई पालकहरुको राज्य थियो भन्ने उल्लेख छ । यसले पनि गाईसँग हाम्रो भूमिको अस्तित्व कसरी गाँसिएको थियो भन्ने जनाउँछ ।
भगवान श्री कृष्ण त आफैँ गोपाल थिए । नन्द वंशका सन्तान भएकाले उनको पुरा शैशव काल गाई गोठ र गोठालो अनि नौनि (मखन)को घैला वरिपरी नै बितेको थियो । त्यस ताका छोरीको जन्म बढी हुन्थ्यो कि क्या हो, कृष्णले गोपिनीहरुसँगै खेलेर बाल्यकाल गुजारेको कथा हामी पढ्न पाउँछौँ ।
कृष्णको गौ–प्रेम र गाईको सेवामा उनले दर्शाएको समर्पणले पनि गौमाताको अस्तित्व र महत्व कति उच्चस्तरीय छ भन्ने दर्शाउँछ । उनै गौमातालाई हामी पूजा गरेर ‘गाईतिहारे औँशी’ मनाउँदै छौँ ।