झण्डै साढे ४ खर्बको नोट छाप्ने ठेक्का भारतीय कम्पनीलाई, तपाइँको खल्तिको नोट छाप्न कति लाग्छ खर्च? « Arthapath.com
१४ मंसिर २०७९, बुधबार

झण्डै साढे ४ खर्बको नोट छाप्ने ठेक्का भारतीय कम्पनीलाई, तपाइँको खल्तिको नोट छाप्न कति लाग्छ खर्च?



काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ खर्ब ३० अर्ब मूल्य बराबरका नोट छाप्न भारतीय कम्पनीलाई आशयपत्र दिएको छ । १००० रुपैयाँ दरका ४३ करोड थान नोट छाप्नका लागि भारतको सरकारी सुरक्षित मुद्रण प्रेसले जिम्मा पाउने भएको हो । भारत सरकारको वित्त मन्त्रालय अन्तरगतको ‘सेक्युरिटी प्रिण्टिङ एण्ड माइनिङ कर्पोरेशन’ले उक्त ठेक्का पाएको हो ।

राष्ट्र बैंकले एक पटकमा करीव ३ वर्षलाई पुग्ने गरी नोट छपाइ गर्दै आएको छ । यस पटक ठूला दरका नोट छाप्न उक्त कम्पनीले १ करोड ११ लाख ३४ हजार ५०६ अमेरिकी डलर (बुधबारको मूल्यमा रू. १ अर्ब ४५ करोड २६ लाख ७ हजार ६५०) को बोलपत्र हालेको थियो । यही बोलपत्र सदर गर्दै राष्ट्र बैंकले आशयपत्र दिएपछि अब ठेक्का सम्झौता गरेर नोट छपाइको प्रक्रिया थाल्न बाटो खुलेको छ ।

यो ठेक्का अन्तरगत भारतीय कम्पनीले नेपाली नोटको डिजाइनिङ र मुद्रण गरेर मात्रै पुग्दैन, नेपालसम्म नोट ल्याइदिनु पर्ने छ । यसरी हिसाब गर्दा हामीले बोक्ने १ हजारको एउटा नोट छपाइ गर्न ३ रुपैयाँ ३८ पैसा खर्च लाग्ने देखिएको छ ।

राष्ट्र बैंकमा यो ठेक्काका लागि विभिन्न मुलुकका चार कम्पनीले बोलपत्र बुझाएका थिए । तीमध्ये सबैभन्दा कम रकम कबोल गरेको भनेर केन्द्रिय बैंकले भारतीय कम्पनीलाई ठेक्का दिने निर्णय गरेको हो ।

यसबाहेक ब्राजिलको ‘कासा दा मोयादा दु ब्राजिल’, चीनको ‘चाइना ब्यांकनोट प्रिण्टिङ एण्ड मिण्टिङ कर्पोरेशन’ का साथै फ्रान्सको निजी कम्पनी ‘ओबेरथुर फिडुसियायर एस–ए–एस’ले पनि बोलपत्र हालेको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्