फोन पेबाट बाहिरिए विश्वास ढकाल, शशिन जोशी नयाँ अध्यक्ष « Arthapath.com
२७ मंसिर २०८०, बुधबार

फोन पेबाट बाहिरिए विश्वास ढकाल, शशिन जोशी नयाँ अध्यक्ष



काठमाडौं । नेपालमा डिजिटल भुक्तानीलाई स्थापित गर्न सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका विस्वास ढकाल फोन पेको अध्यक्षबाट बाहिरिएका छन् । उनको ठाउँमा अब पूर्व बैंकर शशिन जोशी नयाँ अध्यक्ष बनेका छन् ।

फोन पे ‘एफवान सफ्ट’ कम्पनीको भगिनी संस्था हो । ढकाल झण्डै दुई दशकदेखि यो समूहको अध्यक्ष थिए । ‘एफवान सप्mट ग्रुप’, ‘एफवानसफ्ट इन्टरनेशनल, फोन पे र इसेवाजस्ता सबै कम्पनीको अध्यक्षता गर्दै आएका ढकाल अहिले फोनपेबाट बाहिरिएका हुन् ।

उनले नेपालमा क्युआर भुक्तानीलाई स्थापित गर्न ठूलो भूमिका निर्वाह गरेका थिए । कोभीडको समयमा क्युआर प्रविधिलाई ब्राण्डिङ गर्न उनको महत्वपूर्ण भूमिका थियो । त्यसबेला नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न खुद्रा पसल र तरकारी बजारहरुमा पुगेर फोन पेको क्युआरबाट भुक्तानी गर्न प्रेरित गरेका थिए । यस घटनाबाट एउटा निजी कम्पनीको ब्राण्डिङमा गभर्नर नै उत्रिएको भनेर उनको विरोध पनि भएको थियो ।

फोन पे ‘एफवान सफ्ट’को कम्पनी हो । यसको बहुमत स्वामित्व कान्तिपुर मिडिया ग्रुपसँग छ । माऊ कम्पनीले नेपालका अधिकांश बैंकको मोबाइल बैंकिङ प्रणाली तयार पारेका कारण फोन पेलाई डिजिटल भुक्तानीमा अरु सेवाप्रदायकभन्दा चाँडो र सहजै बजार विस्तार गर्न सहज भएको थियो । यस्तो रणनीति बनाउनमा ढकालको महत्वपूर्ण हात रहेको बताइन्छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रबाट पद तथा गोपनीयताको सपथ लिँदै नवनियुक्त अध्यक्ष जोशी ।

नयाँ अध्यक्ष बनेको जोशी भने पूर्व बैंकर हुन् । उनले करीब ३२ वर्ष बैंकिङमा बिताएका छन् । तत्कालिन नेपाल अरब बैंकबाट बैंकिङ करियर सुरु गरेका उनी सोही बैंक अर्थात् हालको नबिल बैंकबाटै यो क्षेत्रबाट विलग भएका थिए ।

२०७४ फागुनमा नबिलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट बाहिरिए पछि उनी बैंकिङ क्षेत्रमा फर्किएका छैनन् । त्यसअघि भने एनआईसी एसिया बैंकमा साढे १२ वर्ष सीईओ भएर काम गरेका थिए । हाल बाणिज्य बैंकका नेतृत्व गरिरहेको पुस्ता उनको रेखदेखमा हुर्किएको पुस्ता हो ।

बैंकिङमा रहँदा उनी आक्रामक होइन, कञ्जरभेटिभ बैंकिङको वकालत गर्ने भनेर चिनिन्थे । बैंक छाडेपछि उनी जावलाखेल डिस्टिलरीको सल्लाहकार बन्न पुगे । २०७५ कात्तिकदेखि उनी जावलाखेल डिस्टिलरी ग्रुप अफ कम्पनीको कार्यकारी नियुक्त भएका थिए । रुस्लान भोड्का उत्पादन गर्ने यो समूहमा आधा दर्जनभन्दा बढी कम्पनी छन् ।


प्रतिक्रिया दिनुहोस्