इन्टरनेट बजारमा डिसहोमको आक्रामक रफ्तार, पुराना र प्रतिष्ठित कम्पनीलाई उछिन्यो « Arthapath.com
३ पुष २०८०, मंगलवार

इन्टरनेट बजारमा डिसहोमको आक्रामक रफ्तार, पुराना र प्रतिष्ठित कम्पनीलाई उछिन्यो



काठमाडौं । गाउँगाउँसम्म टेलिभिजन सञ्जाल फैलाउन सफलता पाएको डिसहोम अब इन्टरनेटमा पनि देशकै दोस्रो ठूलो कम्पनी बनेको छ । एक वर्षअघि सम्म इन्टरनेट सेवा प्रदायकहरुबीच डिसहोमको स्थान छैटौं नम्बरमा थियो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०७९ भदौमा डिसहोमसँग १ लाख ५५ हजार ग्राहक थिए । भायनेट, सुबिसु, क्लासिक टेक, एनटीसी र वल्डलिंक कम्युनिकेशन ठूला कम्पनीको रुपमा देखिन्थे ।

तर एक वर्ष वित्दानवित्दै परिस्थिति फेरिएको छ । डिसहोमले प्रतिस्पर्धाको बजारमा लामो छलाङ मारेको छ । एक वर्षमा डिसहोमले आफ्नो ग्राहक आधारलाई १ लाख ५५ हजारबाट दोब्बरभन्दा धेरै अर्थात् ३ लाख १७ हजार पुर्याएको छ । यससँगै वल्डलिंकपछि देशकै दोस्रो ठूलो फिक्स्ड इन्टरनेट सेवा प्रदायकको रुपमा उभिएको छ ।

एक वर्षमा डिसहोम एक्लैले करीब १ लाख ६२ हजार ग्राहक थप्दा वल्डलिंकले १ लाख ३० हजार र वेवसफर नेपालले ५२ हजार ग्राहक थपेका छन् । क्लासिक टेक र सुबिसुले पनि बजार विस्तारमा राम्रै फड्को मारेका छन् ।

अब वल्डलिंक र डिसहोमपछि नेपाल टेलिकम तेस्रो ठूलो कम्पनी बनेको छ, जुन एक वर्षअघि दोस्रो स्थानमा थियो । क्लासिक टेक, सुविसु र भायनेट सबै एक स्थान ओर्लिएर क्रमशः चौंथो, पाँचौं र छैटौं बरियतामा पुगेका छन् । वेव सफर नेपाल पनि डिसहोमपछि तीव्र गतिमा बढिरहेको कम्पनी हो । ऊ सातौं स्थानमा उक्लिएको छ ।

यसअघि नेपालमा उच्च क्षमताको इन्टरनेट विक्री गर्ने भनेर आक्रामक बजारिकरण गरेको अर्बपति विनोद चौधरीको कम्पनी सीजि कम्युनिकेशनले पनि वितेको एक वर्षमा झण्डै ६२ प्रतिशतले बजार विस्तार गरेको छ । तर यो कम्पनी अहिले पनि देशका ठूला १० कम्पनीको सूचीमा अटाउन सकेको छैन ।

यो एक वर्षमा नेपालमा फिक्स्ड इन्टरनेट उपभोक्ताको संख्या २०.३ प्रतिशत बढेर २ लाख ८४ हजार नाघेको नियामक दूरसञ्चार प्राधिकरणको तथ्यांक छ । तर ठूला कम्पनीहरुमाझ डिसहोम र वेव सफरले मात्रै यो औसत बृद्धिभन्दा अधिक मात्रामा बजार विस्तार गर्न सकेका छन् ।

इन्टरनेट सेवा प्रदायकको बजारमा वल्डलिंक एक्लैले साढे २८ प्रतिशत हिस्सा ओगट्छ । भलै उसले यो एक वर्षमा आफ्नो हिस्सेदारी ३० आधार विन्दुले गुमाएको छ । पोहोरसम्म साढे ६ प्रतिशत हिस्सा रहेको डिसहोम अब ११ प्रतिशतभन्दा ठूलो हिस्सेदारीमा पुगेको छ । साना कम्पनीहरुको बजार ३.६ प्रतिशत खुम्चिँदा डिसहोम र वेवसफरले ती कम्पनीहरुको बजारसमेत खोसेको देखिएको छ । यसमा डिसहोम सबैभन्दा अघि छ ।

सर्वसाधारणलाई सेयर निष्काशन गर्ने तयारीमा रहेको डिसहोमले डीटीएच टेलिभिजनबाट समाजमा स्थापित गरेको शाखलाई अब इन्टरनेटको विक्रीमा बदल्न सफल भइरहेको देखिन्छ । यसले भविष्यमा मुलुकको इन्टरनेट बजारका खेलाडीहरुको संरचना ब्यापक बदलिन सक्ने संभावना बढेको छ ।


प्रतिक्रिया दिनुहोस्