एयरटेलका मालिकले ब्रिटिश टेलिकमको एक चौथाई स्वामित्व किन्दै
काठमाडौँ । भारतीय अर्बपति सुनील भारती मित्तलको समूहले ब्रिटिश टेलिकम (बीटी)को एक चौथाई हिस्सेदारी किन्ने भएको छ । भारती इन्टरप्राइजेजले सोमबार जनाए अनुसार उसको अन्तरराष्ट्रिय लगानी व्यवस्थापन गर्ने शाखामार्फत् उक्त सेयर किन्न लागेको हो ।
बीटीमा रहेका अमेरिकी दूरसञ्चार कम्पनी अल्टिसको स्वामित्व भारतीले खरीद गर्न लागेको समाचारहरुमा जनाइएको छ ।
कम्पनीले बीटीको ९.९९ प्रतिशत स्वामित्व तुरुन्त खरीद गर्ने छ । बाँकी स्वामित्व हासिल गर्न थप नियामकीय स्वीकृतिहरु आवस्यक पर्ने भएकाले ती प्रक्रिया पुरा गरेपछि अघि बढाइने कम्पनीले जनाएको छ ।
सुनील ६६ वर्षीय भारतीय अर्बपति हुन् । उनको सबैभन्दा ठूलो व्यवसाय एयरटेल हो । नेपालमा इन्टरनेट आपूर्ति गर्ने मुख्य कम्पनी यही हो । भारत, बाङ्गलादेश, श्रीलङ्का र अफ्रिकामा गरेर ५० करोडभन्दा धेरै उपभोक्ता भएको एयरटेल भारतको सबैभन्दा ठूलो मोबाइल फोन सञ्चालक हो ।
फोर्ब्सको ‘रियल टाइम’ अर्बपति सूचीमा उनी विश्वका १८६ औँ धनी रहेको देखिन्छ । यो सोमबारको नेटवर्थका आधारमा हो । फोर्ब्सले २०२४ को सूची प्रकाशित गर्दा उनी २६६ औँ स्थानमा थिए । यसले विश्वका अन्य कयौँ अर्बपतिको तुलनामा उनले ब्यापक मात्रामा सम्पत्ती बढाउँदै लगेको देखिन्छ । भारतीय सेयर बजारमा भारती समूहको सेयर यो सालमात्रै ४३ प्रतिशत महँगिएको छ ।
मित्तलको भारती ग्लोबल भने उनका छोरा श्रवणले बेलायतमा बसेर सञ्चालन गरिरहेका छन् । मित्तलले बीटीमा आफ्नो नयाँ साझेदारीलाई दूरसञ्चार क्षेत्र र युकेको विस्वास जित्ने नयाँ खुड्किलोको रुपमा अथ्र्याएका छन् ।
उनले सोमबार पत्रकारहरुसँग भनेका छन्, ‘मैले बीटीलाई निकै लामो समयदेखि नियालिरहेको छु । यो एक गौरवशाली इतिहास बोकेको कम्पनी हो । ब्रिटेनमा यसको भौतिक पूर्वाधार श्रृङ्खला असाध्यै ठूलो छ ।’
बीटी ग्रुप पनि लण्डनमा मुख्यालय भएको ब्रिटेनको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक हो । फिक्स्ड लाइन, ब्रोडब्याण्ड र मोबाइल सेवा सबैमा ऊ नम्बर १ छ । ब्रिटेनमात्र होइन, संसारका १८० देशमा बीटी ग्रुप अन्तर्गत करीब ९९ हजारले काम गर्छन् ।
अल्टिसले सन् २०२१ मै बीटीको १२ प्रतिशत स्वामित्व किनिसकेको थियो । यसलाई बढाएर २४.५ प्रतिशत पुर्याउन लागिएको हो । तर यो खरीद सम्झौता कति मूल्यमा गरिएको हो भन्ने खुलाइएको छैन । भारतीय सञ्चारमाध्यमकले बजारबारे जानकारहरुको हवाला दिँदै बीटीलाई १५ अर्ब डलर मूल्यांकन गरेर करीब ४ अर्ब डलरमा यो कारोबार हुन लागेको जनाएका छन् ।
उक्त सेयर ‘भारती टेलिभेञ्चर युके’ले खरीद गर्ने छ, यो पूर्णतः भारती ग्लोबलको स्वामित्वको कम्पनी हो ।
भारती इन्टरप्राइजेजका अध्यक्ष सुनील भारती मित्तलले बीटी र भारतीबीच निकै लामो सम्बन्ध भएको बताएका छन् । सन् १९९७ देखि २००१ सम्म भारती एयरटेलमा बीटीको २१ प्रतिशत स्वामित्व थियो । बीटीका दुई जना सञ्चालक पनि एयरटेलको सञ्चालक समतिमा प्रतिनिधित्व गर्थे ।