चीनको डिजिटल दुनियाः गुगल, फेसबूक र ट्वीटरको साटो त्यहाँ के चल्छ ?
काठमाडौँ । अबको केही दिन प्रधामन्त्री केपी शर्मा ओली मीत्रराष्ट्र चीनको भ्रमणमा रहने छन् । त्यहाँ उनको समय मूलत राजनीतिक भेटघाटमा बित्ने छ । यो पल्ट चीनसँग कुनै खास परियोजना वा ऋण इत्यादिमा सम्झौता गर्ने संभावना नरहेको भनिएको छ ।
तर चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुन्छ कि हुन्न भन्ने अझैसम्म सुस्पष्ट हुन सकिएको छैन । ‘चीन र नेपाल सरकारबीच बीआरआई संयुक्त निर्माणको कार्यान्वयन योजना’को मस्यौदामाथि सत्ताधारी दलहरु सघन छलफलमा छन् भने चीनसँग पनि यसबारे बाक्लै कुराकानी भइरहेका छ ।
तर यसअघि नै चीन पुगिसकेकी परराष्ट्र मन्त्री आरजू राणा देउवालाई छाड्ने हो भने केवल दुई सल्लाहकारमात्रै लिएर ‘मन्त्री–बिहिन’ भ्रमणमा जान लाग्नुले तत्कालै बीआरआई कार्यान्वयन योजनामा पनि सम्झैता भइहाल्ने अवस्था नरहेको देखाउँछ ।
यो पृष्ठभूमिमा हामीले चीनका केही रोचक तथ्य उल्लेख गर्न खोजेका छौँ, जुन कतिपय नेपालीलाई थहा नहुन पनि सक्छ ।
हामीले नेपालमा अधिकांश इन्टरनेट खोजका निम्ति गुगलको सहायता लिन्छौँ । नक्सा र स्थान परिचयका निम्ति पनि गुगलकै सहारा लिन्छौँ । काठमाडौँमा पछिल्लो समय ब्यापक प्रयोग हुन थालेको राइड–शेयरिङ्ग व्यवसायले पनि गुुगल म्यापकै उपयोग गर्छन् ।
हामीहरु मध्ये अधिकांशले अहिले ईमेल पनि गुगल सेवाबाटै लिने गरेका छौँ र हाम्रा महत्वपूर्ण तस्वीर, प्रमाण, दस्तावेज लगायतलाई गुगलमै ‘स्टोरेज’ गरिरहेका छौँ । तर चीनमा गुगल चल्दैन । त्यहाँ गुगलजस्तै आफ्नै कम्पनीहरु छन् ।
पाइतु (Baidu) चीनमा सबैभन्दा धेरै उपयोग हुने सर्चइञ्जिन हो, जसलाई ‘चीनको गुगल’ पनि भनिन्छ । यसले वेव–पेज, तस्वीर, भिडियो र नक्सा इत्यादिको खोजि गर्न सघाउँछ । साथै यसका पाइतु पेइक (Baidu Baike)भन्ने सेवाले विकिपेडियाजस्तै सामान्य ज्ञान उपलब्ध गराउँछ । पाइतुले प्रश्नोत्तर र फोरमजस्ता थप सेवाहरु पनि दिन्छ ।
हामीकहाँ गुगलका अवला बिङ, याहू सर्च, ईकोसिया, ब्रेभ सर्चजस्तै चीनमा पनि सो–क (Sogou), ३६० सर्च वा एसओ डाटकम, शेङ्मा (Shenma), यउ–ताओ (Youdao) जस्ता सर्च इञ्जिनको उपयोग हुन्छ ।
चीनमा सामाजिक सञ्चालहरु पनि उसकै छन् । चीनको ‘ग्रेट फायरवाल’ले गुगलमात्रै होइन, फेसबूक, ट्वीटर (एक्स), इन्स्टाग्रामजस्ता पश्चिमा एवम् अन्य देशका सामाजिक सञ्जालहरु पनि प्रतिबन्ध गरेको छ । फेसबूक र ट्वीटर सन् २००९ देखि, इन्स्टाग्राम २०१४ देखि चीनमा प्रतिबन्धित छन् ।
त्यसैले चीनले आफ्नै किसिमको सामाजिक सञ्जालको दुनियाँ तयार पारेको छ । त्यहाँ सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल विच्याट (WeChat) हो । चीनमा १ अर्ब ३० करोडभन्दा धेरै मासिक रुपमा सक्रीय प्रयोगकर्ता भएको यो प्लेटफर्मले फेसबूकको न्युजफिडमा जस्तै अपडेट शेयरिङ गर्ने सुविधा दिन्छ । ह्वाट्सएप वा फेसबूक म्यासेञ्जरजस्तै ‘कल’ तथा ‘मेसेजिङ’ सुविधा पनि दिन्छ ।
सपिङ, गेम लगायत शेयरिङ गर्ने मिनि–प्रोग्रामहरु पनि उपलब्ध छ । साथै विच्याटलाई ईसेवाजस्तै वालेटको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
क्यूक्यू भन्ने अर्को प्लेटफर्मले पनि च्याट ग्रुप, गेम तथा म्युनिक स्ट्रिमिङको सुविधा दिन्छ । वालेट त यो हुँदैहो । ६० करोडभन्दा धेरै प्रयोगकर्ता भएको यो प्लेटफर्म मूलतः गेमिङ समूदायमा ज्यादा प्रचलित छ । वि–पुअ (Weibo) भन्ने प्लेटफर्म चाहीँ ट्वीटर (एक्स)को समानान्तर छ ।
हामीले चलाउने ट्वीटर र इन्स्टाग्रामको ‘हाइब्रिड’ भर्सनजस्तै छ यो । जसले पब्लिक पोस्टहरु हाल्न, ट्रेन्डिङ गर्न, लाइभ–स्ट्रिमिङका लागि पनि यो प्लेटफर्मको उपयोग हुन्छ । टीकटकको माउ कम्पनी बाइटडान्सले चीनमा ‘चिनियाँ शैली’कै टिकटक चलाउँछ, जसलाई तोउ–यिन् (Douyin) भनिन्छ ।
सिआओ–होङ्–शु (Xiaohongshu) भन्ने अर्को प्लेटफर्म छ, त्यो चाहीँ ब्यूटी, फेसन, ट्राभल, फिटनेसजस्ता जीवनशैली र ई–कमर्शको प्रबर्द्धनमा प्रयोग हुन्छ । यसलाई इन्स्टाग्राम र पिनटेरेस्टको समग्र स्वरुपजस्तै मान्दा हुन्छ ।
यस्ता कयौँ इन्टरनेट प्लेटफर्म तथा सेवाहरु चीनले विकास गरेको छ, जसले पश्चिमा डिजिटल साम्राज्य माथि चुनौती दिँदै आएको छ । त्यतिमात्रै होइन, अमेरिका र बाँकी पश्चिमा मुलुकहरुको दबदबाबाट आफूलाई स्वतन्त्र र स्वायत्त राख्न चीनलाई यस्ता घरेलु नवप्रवर्तनले ज्यादै ठूलो मद्दत मिलेको छ ।
अहिले थोरै देशलाई छाड्ने हो भने बाँकी संसारका हरेक मानिसको व्यक्तिगत विवरणहरु गुगल र सामाजिक सञ्जालहरुको नियन्त्रणमा छ । तर चीनले त्यस्ता पश्चिमा कम्पनीहरुको हातमा आफ्ना नागरिकको विवरण पुग्न दिएको छैन । यसले उसको स्वायत्ततालाई संसारका कयौँ देशको तुलनामा बलियो पारेको ठानिन्छ ।