नेपालमा फाइभ–जी विकास गर्न हुआवेले सहयोग गर्ने « Arthapath.com
८ पुष २०८१, सोमबार

नेपालमा फाइभ–जी विकास गर्न हुआवेले सहयोग गर्ने



काठमाडौं । दूरसञ्चार उपकरण उत्पादन गर्ने संसारकै प्रमुख कम्पनीहरुमध्येको एक हुआवेले नेपालमा पाँचौँ पुस्ता (फइभ जी) को इन्टरनेट सेवा विस्तारमा सघाउने प्रतिबद्धता जनाएको छ ।

हुआवे नेपालले पहिलो पल्ट औपचारिक रुपमा पत्रकारहरुसँग साझेदारी जनाउँदै यस्तो बताएको हो । उसले संसारभर फाइभ जीको विकास र विस्तारमा आफूहरुले गरिरहेको प्रयासलाई दर्शाउँदै नेपालमा पनि उन्नत इन्टरनेट सेवा विस्तार गर्न चाहेको बताएका छन् ।

अमेरिकी उद्यमी एवम् संसारकै सबैभन्दा धनि व्यक्ति इलोन मस्कले आफ्नो इन्टरनेट कम्पनी स्टारलिंकको ब्यापार नेपालमा पनि विस्तार गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भर्चुअल सम्बाद गरेको केही दिनपछि हुआवेले यस्तो अवधारणा अघि सारेको हो । उसले मोबाइल इन्टरनेट मात्रै होइन, यहाँको कृषि एवम् सौर्य ऊर्जाको विकासमा समेत आफूले प्रभावकारी योगदान गर्नसक्ने दाबी हुआवेले प्रस्तुत गरेको छ ।

प्रविधि पत्रकार मञ्च (टिजेएफ) र हुआवे नेपालले आइतबार संयुक्त रूपमा आयोजना गरेको ‘फ्युचर कनेक्ट समिट २०२५’ मा उक्त चिनियाँ प्रविधि कम्पनीका अधिकारीहरुले यस्तो धारणा राखेका हुन् । ‘कर्मचारीहरुकै लगानी (स्वामित्व)मा सञ्चालित रहेको’ भनिएको हुआवेले संसारभर फाइभजीको उन्नत प्रविधी विस्तार गरिरहेको छ ।

‘ड्राइभिङ अ ग्रिनर डिजिटल फ्युचर’ नारासहित आयोजना गरिएको यो समिट नेपालका अग्रणी प्रविधि पत्रकारहरू र हुआवे नेपालका पदाधिकारीहरूको सहभागितामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेपालको प्रविधि क्षेत्रमा कलम चलाउने पत्रकारहरूको उपस्थिति थियो। साथै, हुआवे नेपालका विभिन्न विभागका प्रतिनिधिहरू पनि सहभागी थिए।

कार्यक्रममा सहभागीहरूले नेपालको डिजिटल विकासका सम्भावनाहरू, विश्वव्यापी प्रविधिको नवीनतम प्रयोग र हरित प्रविधि विकासका विषयमा छलफल गरेका थिए।

कार्यक्रममा हुआवे नेपालका पब्लिक रिलेसन प्रमुख लिन हार्इले नेपाली प्रविधि पत्रकारहरूसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी व्यक्त गरे ।

उनले भने, ‘नेपालको प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन हामी टिजेएफसँग सहकार्य गर्न पाएकोमा गर्व गर्छौं। भविष्यमा पनि यस्तै कार्यक्रमहरू आयोजना गर्ने हाम्रो अठोट छ ।’ उनले प्रविधिको फाइदा समाजका सबै वर्गसम्म पुर्‍याउन हुआवेले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

‘हामी टिजेएफसँग थप विविध विषयमा कार्यक्रम गर्न तयार छौं र नेपाली प्रविधि पत्रकारितालाई योगदान दिन चाहन्छौ’, हाईले थपे ।

हुवावे नेपालका कर्पोरेट अफेयर्स म्यानेजर असित अधिकारीले हुआवेले विश्वभर प्रविधिको माध्यमबाट पुर्‍याएको योगदानबारे जानकारी गराए । उनका अनुसार, हुआवे हाल विश्वका १७० भन्दा बढी देशमा सेवा प्रदान गर्दै करिब २ लाख ७ हजारभन्दा धेरैलाई रोजगारी दिन सफल भएको छ ।

‘हाम्रो उद्देश्य व्यापारिक मात्र होइन, सामाजिक र संस्थागत उत्तरदायित्वका क्षेत्रहरूमा पनि योगदान पुर्‍याउनु हो। नेपालमा पनि हुआवेले विगत २५ वर्षदेखि निरन्तर सेवा दिँदै सामाजिक र आर्थिक रुपान्तरणमा सहयोग गरिरहेको छ’, अधिकारीले थपे ।

कार्यक्रममा टिजेएफका अध्यक्ष उमेश पौडेलले नेपालमा प्रविधि पत्रकारितालाई थप फराकिलो पार्नका लागि यस्ता कार्यक्रमहरुले सहयोग पुर्याउने बताए । नेपालमा प्रविधिको क्षेत्रको बुझाइमा ठूलो अन्तर रहेको भन्दै उनले यस क्षेत्रलाई थप क्रियाशिल र प्रभावकारी बनाउनका यस्ता कार्यक्रहले सहयोग पुग्ने बताए ।

प्रविधि पत्रकारितालाई अझ समृद्ध बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको र विश्वका नविनतम प्रविधि जस्तै– एआइ, साइवर सुरक्षा तथा फाइभ–जी लागयतका विषयमा थप कार्यक्रम गर्दै प्रविधि पत्रकारितालाई थप मजबुत बनाउन लागेको उनको भनाइ थियो ।

समिटका क्रममा हुआवे नेपालका प्रभात रेग्मीले विश्व बजारमा फाइभजी प्रविधिको प्रभाव र यसको सम्भावनाबारे प्रस्तुति दिएका थिए। उनले भने, ‘फाइभ–जी प्रविधिले कम विलम्बता (लो ल्याटेन्सी)का साथ उच्चगतिको सेवा प्रदान गर्दछ, जसले गर्दा यो प्रविधि उद्योगदेखि स्वास्थ्य र शिक्षा क्षेत्रसम्म क्रान्तिकारी परिवर्तन ल्याउन सक्षम छ।’

रेग्मीले नेपालमा फाइभ जीको विस्तारबाट दिगो डिजिटल विकासलाई तीव्रता दिने विश्वास व्यक्त गरे। उनले नेपालले पनि फाइकभ जी सुरुवात गरेर भरपुर उपयोग गर्न सक्ने र यसले नेपाल सरकारद्वारा अघि सारिएको डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गर्न धेरै ने सहयोग गर्ने बताए ।

कार्यक्रममा बिजनेस पावर एण्ड बिजनेस इन्भाइरोमेन्ट डिपार्टमेन्टका निर्देशक जेम्स झाङले हुवावेले सौर्य ऊर्जाजस्ता नवीकरणीय ऊर्जाको उपयोग बढाएर वातावरणमैत्री समाधानहरू विकास गर्न प्राथमिकता दिएको जानकारी गराए ।

उनले नेपालमा भौगोलिक विविधताका कारण सौर्य ऊर्जाको ठूलो सम्भावना रहेको र यसमा हुआवे प्रविधिले महत्त्वपूर्ण योगदान दिनसक्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस्