अलिबाबाले पनि ल्यायो नयाँ एआई च्याटबट, अमेरिकासँग ‘जस्तोसुकै युद्ध’ लड्न तयार भएको चीनको उद्घोष

काठमाडौँ। चीनको विश्वप्रसिद्ध ईकमर्श प्लेटफर्म अलिबाबा सञ्चालन गर्ने ज्याक मा लामो अन्तराल पछि आफ्ना राष्ट्रपति सी चिनफिङसँग हात मिलाएको तस्वीर केही दिनअघि मात्रै सार्वजनिक भएको थियो ।
त्यसदेखि नै ज्याक मा र अलिबाबाले केही ‘नयाँ’ गर्दै छन् भन्ने अन्दाज सुरु भएको थियो । अब त्यो अन्दाजले पनि पूर्णता पाएको छ ।
अग्रणी प्रविधि कम्पनी अलिबाबाले बिहीवार ओपनएआई र स्टार्टअप डीपसिक जस्ता प्रतिस्पर्धीहरूलाई पछाडि पार्ने दावी सहित आफ्नो नवीनतम कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेको छ ।
एआई मोडलहरु विकसित गर्ने दौडमा सहभागि भएपछि चीनमा उक्त कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । अलिबाबा र ह्याङ सेङ चाइना एन्टरप्राइजेज इन्डेक्समा पनि उछाल देखिएको छ । अलिबाबाको हङकङमा सूचीकृत शेयर ८ प्रतिशत बढेर बन्द भएको छ ।
अलिबाबाले आफ्नो नयाँ एआई मोडेल ‘क्यूडब्ल्युक्यू – ३२बी’ ले असाधारण प्रदर्शन गर्ने कम्पनीको दाबी छ । अलिबाबाले ओपनएआईको ओ १–मिनी (गत वर्ष सार्वजनिक गरिएको कम लागतमा प्रभावकारी मोडेल) र डीपसिकको ‘आर १’ (सबैभन्दा शक्तिशाली खुला स्रोत मोडेल) सँग प्रतिस्पर्धा गर्न सक्ने भनेर आफ्नो मोडलको प्रचार गरेको छ।

समाचारहरुमा जनाइए अनुसार यस मोडेलमा ३२ अर्ब प्यारामिटर छन् । जबकि डीपसिकको ‘आर १’ मा ६७१ अर्ब प्यारामिटर छन् । कम प्यारामिटर भएको मोडेल सानो र प्रशिक्षण दिन सजिलो हुने बताइएको छ।
डीपसिकले जनवरीमा आफ्नो ‘आर १’ मोडेल सार्वजनिक गरेर विश्वलाई चकित पारेको थियो । जसको प्रशिक्षण लागत पश्चिमा प्रतिस्पर्धीहरूभन्दा धेरै कम रहेको थियो।
यस सफलताले चीन–अमेरिका प्रविधि युद्ध चलिरहेका समयमा चिनियाँ कम्पनीहरूको नवीन खोज र प्रयोगले विश्वभरका लगानीकर्ताहरूको विश्वास बढाएको छ।
सोही कारण संसारभरबाट अटो र प्रविधिमा केन्द्रित हुने सेयर बजारको पैसा चिनियाँ बजारमा जम्मा हुन थालेको छ । फलस्वरुप गत जनवरीयता हाङसेङ चाइना एन्टरप्राइजेज इन्डेक्स ३० प्रतिशतले बढेको छ ।
अलिबाबा एक चिनियाँ इ—कमर्स प्लेटफर्म हो, जसले टाओबाओ र टीमलजस्ता ईकमर्श प्लेटफर्महरु सञ्चालन गर्छ । यो कम्पनीले सन् २०२३ मा ओपनएआईको च्याटजीपीटीको काउन्टरमा ‘तोंगई कियानवेन’ सेवा शुरू गरेको थियो ।

जनवरीमा कम्पनीले क्वेन २.५ म्याक्स सार्वजनिक गरेको थियो । जसले डीपसिकको भी ३ मोडेलभन्दा उत्कृष्ट प्रदर्शन गरेको दावी गरिएको छ ।
गत साता अलिबाबाले आगामी तीन वर्षमा एआई र क्लाउड कम्प्युटिङमा ३८० अर्ब युआन (५२.४ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ, जुन पछिल्लो दशकमा प्रविधिका क्षेत्रमा एकै पटक गरिएको सबै भन्दा बढी लगानी हो ।
बुधवार चिनियाँ नेतृत्वले एआई, मानवाकार रोबोट र क्वान्टम प्रविधि जस्ता उदयीमान उद्योगहरूलाई सहयोग गर्ने वाचा गरेको छ।
यतिमात्रै होइन, चीनले अब आफू अमेरिकासँग कुनै पनि किसिमको युद्ध लड्न तयार भएको सन्देश दिएका छन् ।
एजेन्सीको सहयोगमा ।