पूर्ण मात्रामा भ्याक्सिन पाएका र पिसिआर रिपोर्ट नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था नगर्न परिसंघको माग « Arthapath.com
१ आश्विन २०७८, शुक्रबार

पूर्ण मात्रामा भ्याक्सिन पाएका र पिसिआर रिपोर्ट नेगेटिभ भएका पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था नगर्न परिसंघको माग



काठमाडौं । नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएको छ । परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पिसिआर नेगेटिभ रिपोर्ट भएका व्यक्तिहरुलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न जोड दिएको हो ।

पर्यटन क्षेत्रको विकास र नेपालमा प्रवद्र्धनका लागि पर्यटन समिति गठन गर्दै परिसंघले यस क्षेत्रको शीघ्र पुनरोत्थाका लागि सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्नेमा पनि जोड दिएको छ । परिसंघकी राष्ट्रिय परिषद सदस्य पम्फा धमलाको सभापतित्वमा गठित समितिको पहिलो बैठकले पर्यटन क्षेत्रमा सक्रिय सम्पूर्ण व्यवसायी एवं श्रमिक तथा मजदूरहरुलाई पूर्णरुपमा खोप उपलब्ध गराउन सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी नेपाल आउन चाहने पर्यटकलाई अन अराइभल भिसा उपलब्ध गराउन पहल गर्ने र विभिन्न देशहरुले अझै पनि नेपाल भ्रमणका लागि जोखिमयुक्त मुलुकको सूचीमा राखेकाले त्यसलाई हटाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पर्यटन समिति गठन कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले कोभिड–१९ बाट प्रभावित पर्यटन क्षेत्रको शीघ्र पुनरोत्थानका लागि सरोकारवाला सबै एक ठाउँमा उभिनुपर्ने बताए । पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सहजीकरण आवश्यक पर्ने भन्नुहुँदै उहाँले परिसंघले त्यसको नेतृत्व लिने बताएका छन ।

उहाँले विभिन्न देशले आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि खुला नगरेको भन्दै नेपालमा विदेशी पर्यटक आउन सक्ने वातावरण बनाउन परिसंघमार्फत कुटनीतिक पहल अघि बढाउने उल्लेख गरेका छन । उपाध्यक्ष शाहले नेपाल भ्रमणका लगि सुरक्षित गन्तव्य भएको सन्देश विश्वभर दिनुपर्ने बताएका छन ।

समितिकी सभापति पम्फा धमलाले कोभिडले पर्यटन क्षेत्रमा गम्भीर संकट परेको भन्दै यस क्षेत्रलाई पुरानै लयमा फर्काउन धेरै काम गर्नुपर्ने बताए । उहाँले यो वर्षको पर्यटन आवागमनको सिजन सुरु हुन लागेको भन्दै यसलाई पर्यटन पुनरोत्थानको अवसरको रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन ।


प्रतिक्रिया दिनुहोस्