हवाई उड्डयनमा सेवा प्रदाय र नियामक छुट्याउने प्रस्ताव मन्त्रिपरिषदमा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक मन्त्रीपरिषद्मा पेश भईसकेको बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उच्च अदालतका पूर्व न्यायाधीशको संयोकत्वमा उच्चस्तरीय छानिबिन समितिको प्रस्ताव मन्त्रिपरिषदमा प्रवेश भईसकेको बताए । उनले भने, ‘हालसम्म भएका विमान दुर्घटनाको विषय क्याबिनेटमा पुगिसकेको छ । उच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बन्दै छ ।’
उनले उड्डयनमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेसकेको जानकारी दिए। उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि अन्तरमन्त्रालय स्तरमा काम भईरहेको पनि बताए । ।
अहिले प्रस्ताविगत छानबिन समितिमा यस अघिका कार्यदलले बनाएका अध्ययन प्रतिवेदनहरूलाई सन्दर्भ सामग्रीका रूपमा लिएर अघि बढ्ने जानकारी मन्त्री पाण्डेले गराए । साथै अध्ययनले दिएको प्रतिवेदन कार्यान्वयन हुनेमा उनले विश्वास व्यक्त गरे ।
मन्त्री पाण्डेले हवाई दुर्घटनाका विषयमा संसदमा समेत सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएर छलफल समेत भईसकेको पत्रकारमाझ बताए । मन्त्री पाण्डेले मन्त्रालय र मातहतका निकायमा संस्थागत र संरचनागत कुरामा सुधार गर्दै अघि बढिरहेको जानकारी दिए ।