सरकारले तोकेकै दरमा हवाई टिकट बिक्रीको वायुसेवा कम्पनीहरुको दावी « Arthapath.com
१६ आश्विन २०८१, बुधबार

सरकारले तोकेकै दरमा हवाई टिकट बिक्रीको वायुसेवा कम्पनीहरुको दावी



काठमाडौं । सरकारले तोकिएकै दर हवाई टिकट बेचिरहेको वायुसेवा कम्पनीहरुले दावी गरेका छन् ।

चर्को मूल्यमा टिकट बिक्री गरेको भन्दै विभिन्न सञ्चारमाध्यम समाचार प्रकाशन भएपछि कम्पनीहरुले विज्ञप्ति जारी गरेका छन् । जारी विज्ञप्तिमा सरकारले तोकेको दरमा टिकट बिक्री गरिरेको दावी छ ।

महंगो दरमा हवाई टिकट वेचिएको भनी वायुसेवा कम्पनीहरुको चेक ईन काउण्टर तथा अफिसहरुमा गई आम जनसमुदायलाई भ्रम उत्पन्न गर्ने खालका अनर्गल प्रचार प्रसार गरी कर्मचारीहरु माथि अभद्र व्यवहार तथा हुलहुज्जत भएको प्रति संघले घोर भर्त्सना गरेको छ । सो कार्यमा संलग्नहरुको पहिचान गरि कानूनी रुपमा कारवाही गर्न समेत संघले माग गरेको छ ।

‘हवाईसेवा सम्वेदनशील सेवा भएकोले यस प्रकारको गतिविधिले हवाई सुरक्षामा प्रतिकुल असर पार्ने हुदाँ सम्बन्धित सबै निकाय चनाखो भई यस प्रकारको घटनालाई निरुत्साहीत गरी दिनु हुन यो संघ जोडदार माग गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ।

विगत केही दिन अघि आएको अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा बाढी पहिरो जानुका साथै सडक तथा सञ्चार संजालहरु पूर्ण रुपमा विक्षेद भएका छन् ।

नेपाली हिन्दूहरुको महानचाड बडा दशैं नजिकिदै गई रहेको अवस्था छ । यस्तो अवस्थामा वायुसेवा कम्पनीहरुले अहोरात्र खटीई आफ्ना सेवा प्रदान गरि रहेका वेलामा यस्ता घटना घट्नु निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी नागरिकको सेवामा अहोरात्र खटिने कर्मचारीहरुलाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन नसकेमा सुरक्षाको कारणले सम्पूर्ण नियमित उडानहरु वाध्य भै स्थगन गर्नु पर्ने अवस्था सृजना हुने भन्दै संघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।


प्रतिक्रिया दिनुहोस्